पोखरामा पहिलो पटक मिर्गौला प्रत्यारोपण

कास्की - पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पहिलो पटक बिरामीमा मिर्गौला प्रत्यारोपण गरिएको छ।

कास्कीको अन्नपूर्ण गाउँपालिकाका ५३ वर्षीया महिलामा बिहीबार उनका श्रीमानको मिर्गौला प्रत्यारोपण गरिएको हो। विशेषज्ञ चिकित्सक टोलीले चार घण्टा लगाएर ती महिलामा मिर्गौला प्रत्यारोपण गरेका थिए। अस्पतालले दुवै जनाको नाम गोप्य राखेको छ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र प्रतिष्ठानको सहकार्यमा पहिलो पटक प्रत्यारोपण सम्पन्न भएको प्रतिष्ठानका कार्यकारी निर्देशक प्राडा भरतबहादुर खत्रीले जानकारी दिए। केन्द्रका डा.पुकारचन्द्र श्रेष्ठ तथा प्रतिष्ठानका डा.प्रकाश क्षेत्री, डा.अनुप चापागाई, डा.माया लामा, डा.जुजु श्रेष्ठ र डा. अमृत केसीको टोलीले मिर्गौला प्रत्यारोपण गरेको हो। यसअघि पोखरा तथा गण्डकी प्रदेशका बिरामी मिर्गौला प्रत्यारोपणका लागि राजधानी काठमाडौँ जानुपर्ने बाध्यता थियो। 

प्रतिष्ठानलाई यही असार ३ गते प्रत्यारोपणका लागि स्वास्थ्य सेवा विभाग मातहतको मानव अङ्ग प्रत्यारोपण समन्वय सचिवालयबाट अनुमति प्राप्त भएको प्रतिष्ठानका सूचना अधिकारी सुमन भट्टराईले जानकारी दिए। 

प्रतिष्ठानले यसअघि प्रत्यारोपणका लागि आवश्यक जनशक्ति उपलव्ध गराउने सम्बन्धमा धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रसँग सम्झौता गरेको थियो। पहिलोपटक प्रत्यारोपण गरिएको बिरामीको सबै उपचार खर्च निःशुल्क गरिएको अस्पतालले जनाएको छ। पोखरामा मिर्गौला प्रत्यारोपण हुने भएपछि धेरै बिरामीको उपचारमा सहज हुने र आगामी दिनमा यस सेवालाई बढाउँदै लैजाने योजना अस्पताल प्रशासनको छ। 

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा दैनिक पाँच सय मिर्गौलाका बिरामीले डायलासिस गराउँदै आएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×