एजेन्सी - युक्रेनमा रहेको रुसको सम्पत्ति जफत गरिने भएको छ। युक्रेनको सरकारले सो कुरा जनाएको छ। युक्रेनका प्रधानमन्त्री डेनिस समहालले मंगलबार युक्रेनमा रहेको रुसको सम्पत्ति जफत गरिने जानकारी दिएका हुन्।
उनले युक्रेनको मन्त्रिपरिषदले हालैमात्र युक्रेनमा रहेको रुसको सम्पत्ति जफत गर्ने विषयको कानुन बनाएको र सो सम्पत्ति जफत गर्ने अनुमति दिएको बताए। प्रधानमन्त्री सामहालले मंगलबार भन्नुभएको छ– अब युक्रेनमा रहेका रुसका सबै प्रकारका भौतिक सम्पत्तिहरु युक्रेन राज्यको मातहतमा आएका छन्, मंगलबारको मन्त्रिपरिषदको बैठकले सो कानुन बनाएको छ।
युक्रेनले रुसको आक्रमणबाट ध्वस्त बनाएका संरचनाहरुको पुननिर्माणका लागि एक कोषको स्थापना गरेको जनाएको छ। रुसको सो सबै सम्पत्ति उक्त कोषमा जम्मा हुनेगरी कानुन बनाएको उनले बताए। युक्रेनका प्रधानमन्त्रीले युक्रेनले विश्वका अरु देशसँग पनि ती देशमा रहेका सम्पत्तिहरु जफत गर्ने विषयमा पनि अनुरोध गर्ने जनाएको छ।
ती सम्पत्तिहरु ती देशहरुले जफत गरी युक्रेनको पुननिर्माणसम्बन्धी कोषमा जम्मा गर्ने गरी काम गर्न अनुरोध गरिने जानकारी उनले दिएका हुन्।