तनहुँ - व्यास नगरपालिका–१० स्थित सिसुवा भतेरी कृषि सहकारीमार्फत सार्वजनिक जग्गामा स्थानीय सामूहिक खेती गर्न जुटेका छन्। उक्त वडास्थित मादी नदी किनार नजिकैको २५ रोपनी जग्गामा मौसम अनुरुपको बाली लगाउन सामूहिक खेतीमा उनीहरु जुटेका हुन्। संस्थाले सामूहिक खेती गरेर विपन्न समुदायको आयवृद्धिमा सहयोग गर्दै आएको सहकारीका अध्यक्ष यज्ञप्रसाद शर्माले जानकारी दिए। सहकारीले अति सीमान्तकृत बोटे, अल्पसङ्ख्यक दरै, दलित तथा विपन्न व्यक्तिको आयआर्जनमा टेवा दिनुका साथै अँधिया खेतीको लागि अन्यत्र जानुपर्ने समस्या हटेको छ।
विपन्नको आयआर्जनको लागि वडा कार्यालयले १० वर्षको लागि उक्त सार्वजानिक जग्गा निःशुल्क प्रयोग गर्न अनुमति दिएपछि विगत चार वर्ष अघिदेखि नै सामूहिक खेती गरिदै आएको हो। करिब रु एक लाख लागतमा जमिन समथर बनाएपछि सो खेती शुरु भएको हो। सहकारीले राम्रो कार्य गरेको भन्दै व्यास नगरपालिकाले सामूहिक खेतीका लागि रु १७ लाख पर्ने ट्र्याक्टर प्रदान गरेपछि खेती लगाउन सहज भएको अध्यक्ष शर्माले जानकारी दिए। जसको जग्गा छैन उनीहरुलाई पहिलो प्राथमिकता दिएर समूह बनाइएको छ। मैले काम पाइन तथा मैले गरी खान पाइन्न भन्नेका लागि सहकारीले सामूहिक खेतीलाई प्राथमिकता दिएको वडाध्यक्ष तुलसीराम सापकोटाले बताए।
सहकारीले पराल तथा घाँस सोही ठाउँस्थित गौ संरक्षण प्राङ्गरिक मल उत्पादन तथा सरसफाइ केन्द्रलाई दिने र केन्द्रले गाईको मलमूत्र सामूहिक खेतीको लागि दिने व्यवस्था मिलाइएको छ। सहकारीले मौसम अनुसारको विभिन्न तरकारी, धान तथा माछापालन गर्दै आएका छन्। सहकारीमा आवद्ध भएकाले सामूहिक खेती र गाईभैँसीको दूध बिक्री गरी मासिक रु ३० हजारसम्म आम्दानी गर्दै आएका छन्। उक्त सहकारीमा हाल ३२६ आवद्ध भएकामध्ये १०९ जना सामूहिक खेतीमासमेत सहभागी भइसकेका छन्।