काठमाडौँ। नेपाली चलचित्र ‘प्रकाश’को पहिलो झलक सार्वजनिक गरिएको छ। दिनेश राउतको निर्देशन रहेको चलचित्रको प्रदर्शन मिति पनि सार्वजनिक गरिएको छ। निर्माण पक्षका अनुसार चलचित्र २०७९ साल भदौ १० गतेबाट प्रदर्शनमा आउनेछ।
सार्वजनिक गरिएको चलचित्रको पहिलो पोस्टरमा अभिनेता प्रदिप खड्का र दिया मास्केलाई देख्न सकिन्छ। पोस्टरमा प्रदिपलाई गाउँका साधारण युवा र दिया मास्केलाई गाउँकी महिलाको रुपमा देख्न सकिन्छ।
महेन्द्र अधिकारीले निमार्ण गरेको चलचित्रमा हिमाल पारीको गाउँको कथा हेर्न पाइने अड्कल पोस्टरबाट अनुमान लगाउन सकिन्छ। चलचित्रमा प्रदिप र दियाका अलावा रेणु योगी, प्रकाश घिमिरे, राजन खतिवडा, रामबाबु रेग्मी, देव कुमार श्रेष्ठ, निरज पन्थी आदि कलाकारहरुको अभिनय देख्न सकिन्छ।
विकास सुवेदीको लेखन रहेको चलचित्रमा राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन र कलर, ताराप्रकाश लिम्बु, दिपक शर्मा र एलिश कार्कीको संगीत रहेको छ।