गत भदौ २३ गते भएको जेनजी युवा आन्दोलनको स्मरण र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा काठमाडौँमा ‘नदबिने आवाज’ नामक सामूहिक कला प्रदर्शनी आयोजना गरिएको छ। आइतबार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (संसद् भवन) अगाडिको सडक पेटीमा प्रदर्शनी सञ्चालन गरिएको हो।
प्रदर्शनीमा जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको स्मृतिमा समर्पित कलाकृतिसहित सुशासन, नागरिक अधिकार र अभिव्यक्ति स्वतन्त्रताको माग झल्किने विभिन्न चित्रकला, मूर्तिकला तथा सिर्जनात्मक कृतिहरू राखिएका छन्।
आयोजक कलाकारहरूका अनुसार कला केवल सौन्दर्यको विषय मात्र नभई दबिएको आवाजलाई सार्वजनिक गर्ने सशक्त माध्यम पनि हो। उनीहरूले आन्दोलनका क्रममा उठाइएका माग र पीडालाई कलामार्फत जीवन्त बनाउने प्रयास गरेका छन्।
भदौ २३ र २४ गते भ्रष्टाचार र बेथितिविरुद्ध सुरु भएको जेनजी युवा आन्दोलनले देशको राजनीतिमा ठूलो प्रभाव पारेको थियो। आन्दोलनका क्रममा दर्जनौँ युवाको ज्यान गएको र सयौँ घाइते भएको स्मरण गर्दै प्रदर्शनीमार्फत उनीहरूको बलिदानलाई सम्मान गरिएको छ।
कलाकारहरूले यो कार्यक्रमले आन्दोलनको भावना जीवित राख्दै समाजमा सचेतना र सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरेका छन्। प्रदर्शनी हेर्न सर्वसाधारण, कला प्रेमी र अभियन्ताहरूको उल्लेख्य उपस्थिति रहेको छ।