कोहलीको ब्याटिङले जादू भर्दै, लगातार दोस्रो जितसहित भारत शीर्ष स्थानमा

काठमाडौँ - भारतले अष्ट्रेलियामा जारी आईसीसी टी-२० विश्वकप क्रिकेटमा लगातार दोस्रो जित हासिल गरेको छ। सिड्नीमा बिहीबार भएको खेलमा नेदरल्यान्ड्सलाई ५६ रनले हराउँदै भारतले लगातार दोस्रो जितसहित समूहको शीर्ष स्थानमा आफूलाई पुर्याउन सफल भएको हो।

भारतले दिएको १८० रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले २० ओभरमा ९ विकेट गुमाएर १२३ रन मात्र बनायो। टिम प्रिन्गलले सर्वाधिक २० रन जोडेको इनिङ्समा भारतका भुवनेश्वर कुमार, अर्शदिप सिंह, अक्षर पटेल र रविचन्द्रन आश्विनले समान २-२ विकेट लिएका थिए।

त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा २ विकेट गुमाएर १७९ रन बनाएको थियो। विराट कोहलीले अविजित रहँदै ४४ बलमा ६२ रन बनाएका थिए। उनले यो विश्वकपमा लगातार दोस्रो अर्धशतक बनाएका हुन्। 

उनले यसअघि पाकिस्तान विरुद्धको पहिलो खेलमा ५३ बलमा अविजित रहँदै ८२ रन बनाएका थिए। कोहलीको लामो समयपछि ब्याटिङ सुध्रिएको हो। कप्तान रोहित शर्माले ३९ बलमा ५३ रन जोड्दा प्लेयर अफ द म्याच सूर्यकुमार यादवले २५ बलमा अविजित रहँदै ५१ रन बनाएका थिए। नेदरल्यान्ड्सका फ्रेड क्लासेन र पाउल भानले १/१ विकेट लिएका थिए।

यस जितसँगै भारतले २ खेलमा ४ अंक जोडेको छ। भारत समूह २ को शीर्ष स्थानमा रहेको छ। दुवै खेलमा हार व्यहोरेको नेदरल्यान्ड्स पुछारमा छ। २ खेलबाट दक्षिण अफ्रिकाको ३, बंगलादेशको २, १ खेलबाट जिम्बावेको १ अंक रहेको छ। १ खेलबाट पाकिस्तान पनि अंकविहीन रहेको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×