सर्लाही - वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा शान्तिसुरक्षा चुस्त राख्न नेपाली सेनाले शुक्रबारदेखि गस्ती सुरु गरेको छ।
सुरक्षाका लागि नेपाली सेनाले यहाँका सडक तथा बजारमा गस्ती बढाएको हो। जिल्लाका अन्य सुरक्षा निकाय झै नेपाली सेनाले पनि चुनावी सुरक्षा योजना बनाएर गस्ती सुरु गरेको लालबन्दी नगरपालिका–२ नवलपुर पाँचकुमारीस्थित भैरवी दल गणका गणपति एवं प्रमुख सेनानी अभिषेक कार्कीले बताए। उनका अनुसार निर्वाचनमा मतदानस्थलको सुरक्षालगायत समग्र सुरक्षा व्यवस्थाअन्तर्गत नेपाल प्रहरी पहिलो, सशस्त्र प्रहरी दोस्रो र नेपाली सेनाले तेस्रो घेरामा रहेर सुरक्षा प्रदान गर्ने निर्णय भए बमोजिम सेना गस्तीमा निस्केको हो।
देशभरमै सबैभन्दा धेरै २० स्थानीय तह रहेको जिल्लामा ५९९ मतदानस्थल छन्। तीमध्ये सुरक्षाका दृष्टिकोणले १०३ मतदानस्थल अति संवेदनशील सूचीमा राखिएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका निर्वाचन अधिकृत दिवाकर भुजेलले जानकारी दिए। उनका अनुसार ती मतदानस्थलमा २०५ मतदान केन्द्र छन्। जिल्लामा १८४ मतदानस्थल संवेदनशील छन्। ती मतदानस्थलमा ३३९ मतदान केन्द्र रहेका मुख्य निर्वाचन अधिकृत ध्रुवकुमार पियाले जानकारी दिए।
सुरक्षा निकायले जिल्लाको ३१ मतदानस्थललाई सामान्य सूचीमा राखेको छ। ती मतदानस्थलमा ५५ मतदान केन्द्र रहेका छन्। जिल्लामा प्रमुख सेनानी कार्कीको नेतृत्वमा सेनाको गण परिचालन गरिएको छ भने वाग्मतीको कर्मैया र जिल्ला सदरमुकाम मलङ्गवामा पनि सेनानी (मेजर)को कमाण्डमा नेपाली सेना परिचालन भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए।