काठमाडौँ - कीर्तिमानी नेपाली फिल्म ‘कबड्डी ४’लाई हलमा नहेरेका दर्शकलाई खुसीको खबर छ। रामबाबु गुरुङ निर्देशित फिल्म आगामी शुक्रबार ओटीटी प्लेटफर्म सिनेमाघर एपमा रिलिज हुने भएको छ।
एप सञ्चालक तथा अभिनेता खगेन्द्र लामिछानेले शुक्रबार उक्त फिल्मलाई डिजिटल प्रिमियर गर्न लागिएको जानकारी दिएका छन्। दर्शकले २०० रुपैयाँमा सशुल्क एपमार्फत फिल्म हेर्न पाउनेछन्।
गत जेठ १३ गते हलमा रिलिज भएको दयाहाङ राई र सौगात मल्ल स्टारर फिल्मले नेपालमा साढे २२ करोड रुपैयाँ ग्रस कमाइ गरेको थियो। भारतसहित डायस्पोराबाट मात्र फिल्मले १० करोडभन्दा बढी कमाइ गरेको थियो।
‘हलमा हेर्न नपाएका दर्शकले अब सिनेमाघर एपमा फिल्म हेर्न पाउनुहुनेछ,’ लामिछानेले भने। निर्माता चाहिं यतिबेला कबड्डीको पाँचौं श्रृंखलाको तयारीमा जुटेका छन्। यसका लागि २ वर्ष समय लाग्ने निर्माता तथा निर्देशक रामबाबु गुरुङले बताएका छन्।