काठमाडौं - राष्ट्रियसभाको अध्यक्षमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रले पनि दाबी गरेको छ ।
प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभा अध्यक्षमा आफ्नो पार्टीको दाबी रहने बताएका छन् । तर, माओवादी केन्द्र सत्ता गठबन्धनभित्र हुने सहमतिअनुसार नै अघि बढ्ने उनको भनाइ छ ।
मंगलबारको संसदीय दलको बैठकमा उनले गठबन्धनमा हुने निर्णयानुसार नै अघि बढ्ने जानकारी गराएका हुन् । माओवादीको संसदीदलको बैठक सोमबार पनि बसेको थियो ।
राष्ट्रियसभा अध्यक्षको निर्वाचन आउँदो फागुन २९ गते गर्ने कार्यतालिका छ ।
राष्ट्रियसभाका वर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सनाको कार्यकाल फागुन २० गते सकिँदै छ । उनको स्थानमा रिक्त हुने सदस्य पदका निम्ति उपनिर्वाचन पनि भइसकेको छ ।
राष्ट्रियसभा अध्यक्ष चयन गर्न राष्ट्रियसभा सदस्यबीच मतदान हुनेछ । राष्ट्रियसभा अध्यक्षमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला पनि आकांक्षी छन् । उनी हालै उपनिर्वाचनमार्फत विजयी भएर राष्ट्रियसभामा पुगेका हुन् ।