कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीले नेपाल पत्रकार महासङ्घकै राय सुझाव बमोजिम ‘सूचना प्रविधि तथा आमसञ्चार प्रतिष्ठान विधेयक’ परिमार्जन गर्ने बताएका छन्।
नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश समितिको नेतृत्वमा आज मन्त्रालयमा स्मरणपत्र बुझाउन पुगेको टोली समक्ष उनले सरोकारवालाको सुझावलाई अक्षरशः सम्बोधन गर्ने प्रतिबद्धता जनाए। अघिल्लो सरकारले दर्ता गरेको विधेयक भएकाले यसमा सच्याउनुपर्ने विषयका सम्बन्धमा आफू प्रष्ट भएको मन्त्री शाहीको भनाइ थियो।
“प्रदेशसभा सदस्यहरुले संशोधनदर्ता गर्दैछन्, विषयगत समितिमा पत्रकार महासङ्घको सुझावलाई समेटेर विधेयकलाई परिमार्जन गरिनेछ,” उनले भने, “विधेयकप्रति सरोकारवालाले राखेका विषयमा मन्त्रालय र आफ्नो गम्भीर ध्यानाकर्षण भएको छ।” अघिल्लो सरकारले प्रदेशमादर्ता गरेको विधेयक सभामा बुधबार टेबुल गरिएको थियो।
पत्रकार महासङ्घ कर्णाली प्रदेश समितिले विभागीय मन्त्रीका साथै प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुका प्रमुख सचेतकलाई ज्ञापनपत्र बुझाउँदै संशोधन सूचना दर्ता गर्न अनुरोध गरेको छ। महासङ्घले प्रतिष्ठानको अध्यक्षमन्त्री, योजना आयोगका सदस्य र प्रदेश सरकारका सचिव पदेन सदस्य प्रावधान हटाई सरोकारवालाकै प्रतिनिधित्व बढी हुनुपर्ने धारणा राख्दै आएको छ।
प्रदेशसभा सचिवालयले उक्त विधेयकमाथि संशोधनको सूचनादर्ता गर्न निर्धारण गरेको समय भोलि शनिबार दिउँसो २ बजे सकिँदैछ।