दु्रतमार्गको निरीक्षण गर्दै मुख्यमन्त्री

काठमाडौँ - बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे र आर्थिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले तराई काठमाडौँ जोड्ने दु्रतमार्गको निरीक्षण गरेका छन्। 

मुख्यमन्त्रीको सचिवालयका अनुसार पाण्डेले दु्रतमार्गको कार्य प्रगतिबारे जानकारी लिन र समयसीमाभित्र उक्त मार्ग पूरा गराउनका लागि निरीक्षण गरे। नेपाली सेनाले निर्माणको जिम्मा लिएको उक्त मार्गको कार्य करिब १२ प्रतिशत सकिएको विवरण प्राप्त भएको मुख्यमन्त्री पाण्डेले जानकारी दिए। 

साथै उक्त मार्ग निर्माणमा बन्ने तीन वटा सुरुङमार्गमध्ये उनले आज दुई वटा सुरुङमार्गको निरीक्षणसमेत गरेका हुन्। निर्माण सामग्रीको जाँच गर्ने प्रयोगशाला र कच्चपदार्थ उत्पादनका लागि बनाइएको क्रसर, सुरुङ, पुलसहित पाँच किलोमिटरसम्म निरीक्षण गरिएको मुख्यमन्त्री पाण्डेले जनाए। राष्ट्रिय गौरवको आयोजनामा रहेको दु्रतमार्गले विकासको गति तीव्र बनाउने कारणले पनि समय सीमाभित्र निर्माण कार्य सकाउनपर्ने उनको भनाइ छ।
 
नेपाली सेनाका प्राविधिक सेनानी रामसागर यादवले समय सीमाभित्र दु्रतमार्ग निर्माण कार्य सकिने बताए। चार वर्षको समयसीमा रहेकामा हालसम्म लक्ष्यअनुप कार्यप्रगति भएकोले पनि समयसीमामा काम सकिने उनले दाबी गरे। रुख कटानको कार्य सकिएको बताउँदै प्राविधिक सेनानी यादवले जग्गा सम्झौतालगायतका कार्य सकिएको तीन सुरुङ पनि तीव्रगतिमा निर्माण भइरहेको बताए। एक खर्ब ७० अर्ब बजेटको ७२.५ किलोमिटर दुरी रहेको मार्गले सङ्घीय राजधानीलाई एक घण्टामा तराईसँग जोड्नेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×