जलेश्वर आज भरिभराउ

महोत्तरी - जलेश्वर आज भरिभराउ र  सजिसजाउ छ। मिथिला माध्यमिकी परिक्रमाका यात्रीको श्री जलेश्वरनाथ मन्दिरमा गुञ्जने ‘जयशम्भो’ को स्वरमा लय मिसिँदै छ। चौथो दिनको रात्रि विश्रामस्थल मटिहानीदेखि जलेश्वरसम्मै अहिले अटुट मानव पङ्क्ति छ। सबैको मुखबाट ‘जय श्रीराम १ जय जानकी १’ को मन्त्र र जलेश्वर मन्दिर परिसरमा ‘जयशम्भो’ पुकारा सुनिन्छ। 

पिठ्यूँमा फेरफार लुगा र सामल खाजाको पोका, मन र वचनबाट श्रीराम नाम सङ्कीर्तन। माध्यमिकी परिक्रमाको पाँचौँ दिन यात्री जलेश्वर पुग्दै गर्दा जलेश्वरवासी स्वागतमा तमतयार खडा छन्। यात्राको पाँचौँ दिनको विश्रामस्थल जलेश्वरस्थित परिक्रमा पोखरीका चारै डिल यात्रीले खचाखच छ। श्रीराम र श्री जानकीजीको डोला दर्शन गर्न पुग्ने श्रद्धालुको भीड उत्तिकै छ। जलेश्वर नगरभरि स्वागतद्वार र ध्वजापताका सजाइएका छन्। आज जलेश्वर उजेलिएको छ, आज जलेश्वर चहकिएको छ। जताततै भीड छ, तर कोलाहल छैन, भक्तिभजनका स्वर गुञ्जिदाछन्। ‘आजु जलेश्वर सुमङ्गल हे।।१’

अवधविहारी लाल ९श्रीराम० र किशोरीजी ९श्री जानकी० को पदचाप पछ्याउने यात्राको ध्येय अनि कल्याण र मोक्षको कामना। अघि त्रेता युगमा विवाहपश्चात् श्रीराम र जानकी तत्कालीन मिथिला (विदेह) राज्यका विभिन्न ठाउँमा घुम्दै विहार गरेका सम्झनामा १८औँ शताब्दीमा माध्यमिकी परिक्रमा प्रारम्भ भएको मानिन्छ। मिथिलाको महाकुम्भ भनिने यो यात्रामा नेपाल र भारतका साधुसन्तको सरिकता हुँदै आएको छ। गृहस्थ आश्रमका पनि १५ दिन सांसारिक मायाजाल पन्छाएर सरिक हुँदै आएका विगतदेखिको परम्परा छ।

फागुन औँसीका दिन धनुषाको ठेराकचुरीस्थित मिथिलाविहारी स्थानबाट मिथिलाविहारी (श्रीराम) को प्रतिमा राखिएको डोला अघि लगाएर निस्कने यात्रामा जनकपुरधामको अग्नीकुण्डस्थानबाट निस्कने किशोरीजी (जानकीजी) को डोला मिसिएपछि यात्रा विधिवत् प्रारम्भ हुन्छ। जनकपुरधामस्थित जानकी मन्दिर, राम मन्दिर, जनक मन्दिर र दुलाहादुलही मन्दिरसहित पवित्र तलाउ गङ्गासागर एवं धनुषसागरको प्रदक्षिणा गर्दै पहिलो रात्रिबास धनुषाको हनुमानगढीमा बस्ने परम्परा छ। नेपाल र भारतका विभिन्न तीर्थस्थल घुम्दै १३३ किमीको यात्रा गरिने यो क्रममा १५ रात्रिबसको परम्परा छ। नेपालतर्फ महोत्तरी र धनुषा गरी १०७ र भारतर्फ मधुवनी जिल्लामा २६ किमी दुरी तय गरिन्छ। यात्राका क्रममा धनुषामा छ, महोत्तरीमा पाँच र भारतको मधुवनीमा चार रात्रिविश्राम परम्परा छ।

महाशिवरात्रिलगत्तै प्रारम्भ हुने यो यात्रामा भगवान् सदाशिव र श्रीराम तथा जानकी समानरुपले पुकारा गरिने इष्टदेव मानिँदै आइएको छ। कूल १३३ किमीको वृत्ताकारभित्र चार सुरमा शिवालय छन्। सदाशिवले यात्रा मङ्गलमय र कल्याणदायक बनाउने हिन्दू मैथिल जनविश्वास छ। डोला जहाँ पुग्छन्, दर्शन गर्नेको चाप हुन्छ। यो यात्रा नेपाल भारतबीच सांस्कृतिक, धार्मिक र आपसी कुटुम्ब सम्बन्धको अटुट परम्परा पनि भएको मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयका प्राचार्य ईश्वरीप्रसाद पौडेल बताउँछन्।

यात्राको चौथो दिन मटिहानीबाट महोत्तरी प्रवेश गरेको परिक्रमा यात्री टोली अब आठौँ दिनसम्म यसै जिल्लामा रहनेछन्। यस क्रममा आज पाँचौँ दिन जलेश्वरमा रात्रिबास हुनेछ। मटिहानीमा जिल्लाको पहिलो रात्रिबास हुने परम्परा छ। यसैगरी छैठौँ दिन मडै, सातौँ दिन ध्रुवकुण्ड र आठौँ दिन कञ्चनवन रात्रिबासपछि महोत्तरीको यात्रा पूरा हुने परम्परा छ। 

त्यसैगरी धनुषाको हनुमानगढीमा पहिलो रात्रिबासबाट प्रारम्भ भएको यात्रामा नवौँ, १०औँ ११औँ, १२औँ र अन्तिम रात १५औँ दिन बिताइन्छ। त्यसमा क्रमशः पर्वता, धनुषाधाम, सतोखर, औरही र जनकपुरधामको रङ्गशाला मैदान पर्छन्। त्यस्तै मित्रराष्ट्र भारतको मधुवनी जिल्लामा दोस्रो कल्याणेश्वर, तेस्रो फूलहर, १३औँ करुणा र १४औँ दिन बिसौल रात्रिबासको परम्परा छ। पूर्वसुरमा सदाशिव श्री कल्याणेश्वर, पश्चिममा श्री जलेश्वरनाथ, उत्तरमा श्री क्षिरेश्वरनाथ र दक्षिणमा सतोखरनाथले यात्रा अवधिभरि डोला र यात्रीको रखबारी गर्ने विश्वास गरिन्छ।  

आरोग्यता, कल्याण र मोक्ष कामनाका साथ गरिने मिथिला माध्यमिकी परिक्रमा १५ दिनमात्र भए पनि सांसारिक मायाजालबाट पन्छेर अलौकिक यात्राको अवसरका रुपमा यात्री लिन्छन्। “घरपरिवारको बुहार्तन त जिन्दगीभरि झेल्नु छँदैछ नि १”, आज जलेश्वरमा भेटिनुभएका यात्री जिल्लाकै बनौलीका बासिन्दा घनश्याम मिश्रले भने, “घरमा छोराबुहारी नातिनातिना भरि छन् , हामी बूढाबूढी यसपाली यात्रामा निस्कियौँ।”  

डोलाको आगमनसँगै विश्रामस्थलमा भक्तालुले दर्शन गर्ने र भजन, कीर्तनसहित धार्मिक मेला आयोजन हुँदै आएको परम्परा छ। यात्रीको भोजन, आवास, खानेपानी र प्राथमिक उपचार तथा आइपर्ने अन्य कुनै कामका लागि स्वयंसेवकसहितको आवश्यक प्रबन्धमा अन्य विश्रामस्थलका झैँ जलेश्वरवासी अहिले दिलोज्यानले खटेका छन्। यो यात्रा दैहिक नभएर पारलौकिक हुने विश्वास गरिन्छ। नाङ्गा खुट्टाले गरिने यो यात्राले सांसारिक दुःखकष्टबाट मुक्ति दिने हिन्दू मैथिल जनविश्वास रहेको अधिवक्ता गुणबहादुर राउत बताउनुहुन्छ। यात्राको बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्, मार्गमा पर्ने स्थानीय तह र धार्मिक मठले संयोजन, समन्वय गर्दै आएका छन्।

मिथिलामा यात्रामार्गभित्रका जनजन यो महाकुम्भमा परिचालित देखिन्छन्। यात्रामा हुनेको त आफ्नो तालिका छँदैछ, यात्रामार्गका बस्तीबस्तीमा परिक्रमाको पर्खाइ हुन्छ। आज आफ्नो बस्ती हुँदै परिक्रमा आउँछ भन्ने भएपछि सबै डोला दर्शन र यात्रीको खातिरदारीमा सामथ्र्य लुकाउँदैनन्। कोही सर्वत खुवाउने, कोही खाजा खुवाउने र कोही बस्त्र फेराउने कार्यमा तल्लीन देखिन्छन्। आफैँ यात्रामा निस्कन नसक्नेले डोलाको दर्शन र यात्रीको सेवा गरेर पुण्य आर्जन हुने यहाँ जनविश्वास छ। “अहो भावले अतिथि सत्कारको त हाम्रो स्थापित परम्परा नै हो, अतिथि देवरुप हुने मैथिल विश्वास छ”, यात्रीको सेवा, सत्कारमा जुटेका जलेश्वर–१ का सुधीर साह भन्छन्, “त्यसमा पनि अहिलेका अतिथि ९यात्री० त विशिष्ट हुन्।”  

जुनसुकै विश्रामस्थलमा यात्रीको आवास, भोजन, स्वास्थ्योपचार, सुरक्षा र अन्य आवश्यकताबारे स्थानीय (विश्रामस्थल वरिपरिका बासिन्दा) ले स्वस्फूर्तरुपमै पनि चासो र भागिदारी लिने गरेका छन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×