काठमाडौँ - सेमिफाइनलमा भारतलाई १-० गोलले पराजित गर्दै इतिहास रचेको महिला टिम फाइनलको तयारीमा छ। साफमा यसअघिका ५ मध्ये ४ संस्करणमा फाइनलमा भारतसँग हारेपछि नेपाल उपाधिबाट बञ्चित भएको थियो।
२०१० देखि सुरु भएको साफको १२ वर्षे इतिहासमा नेपालले यस पटक कीर्तिमानी खेल प्रदर्शन गर्दै भारतलाई हराएर उपाधिको प्रतिक्षामा छ। भारतविरुद्ध सशक्त खेल प्रदर्शन गरेका खेलाडी र गोल गर्न सफल रस्मीकुमारी घिसिङ टिमको मनोबल उच्च भएको बताउाछिन्।
२०१९ मा भुवनेश्वरमा भएको हिरो गोल्डकपमा नेपालले भारतलाई २-१ ले पराजित गरे पनि साफको इतिहासमा भने हराउन सकेको थिएन। तर, अहिलेको नतिजासँगै खेलाडीमा फाइनल जित्ने मनोबल उच्च रहेको छ।
घरेलु मैदानमा साफ खेलिरहेको नेपालले ११ गोल गर्दा एक गोल पनि खाएको छैन। फाइनलको प्रतिस्पर्धी बंगलादेशले पनि गोल खाएको छैन भने २० गोल गरिसकेको छ। प्रदर्शनको हिसावले बंगलादेश केही बलियो देखिए पनि घरेलु मैदानमा नेपाली टिम प्रमुख दाबेदार हो।
त्यसो त अस्वस्थताका कारण सेमिफाइनल र समुह चरणको अन्तिम खेल गुमाएकी नेपाली टिमकी स्ट्राइकर साबित्रा भण्डारीले पनि फाइनल खेल्ने भएकी छन् । यसले नेपाली टोलीलाई अझ बलियो बनाएको छ ।
साफ महिला च्याम्पियनसिपमा बंगलादेशको यो दोस्रो फाइनल यात्रा हो भने नेपाल पाँचौं पटक फाइनल खेल्दैछ। यी दुबै टिमले भारतसँग हारेपछि उपाधिको मौका गुमाएका थिए।
अब यो संस्करणमा भने साफले नयाँ विजेता पाउने छ। तर, इतिहास नेपालको पक्षमा छ। महिला साफमा नेपाल बंगलादेशसँग अहिलेसम्म पराजित भएको छैन।