काठमाडौँ - अन्धविश्वास र कुप्रचारका कारण नागरिकले हात्तीपाइलेविरुद्धको औषधि खान नमान्दा पर्वतमा ‘औषधि सेवन कार्ड’ अनिवार्य गरेर हात्तीपाइलेविरुद्धको औषधि खुवाउने तयारी गरिएको छ।
हात्तीपाइलेविरुद्धको औषधि सेवन गर्ने अभियान यही फागुन २८ गतेदेखि आगामी चैत ६ गतेसम्म सञ्चालन हुने भएको हो। औषधिलाई परीक्षणका रूपमा प्रयोग गरिएको हो भन्ने कुप्रचारका कारण औषधि सेवन गर्न नमानेपछि यस्तो उपाय अपनाइएको हो। स्वास्थ्यकर्मीकै प्रत्यक्ष निगरानीमा औषधि खुवाउने तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालय पर्वतका निमित्त कार्यालय प्रमुख सन्तोष पौडेलले बताए।
पर्वतको कुश्मा नगरपालिका–१ पाङको नुवार, टार र ततरकोट तथा फलेवास नगरपालिका–५ खानीगाउँ हात्तीपाइले रोगको जटिल क्षेत्र हुन्। लगातार छ वर्षसम्म हात्तीपाइलेविरुद्धको औषधि सेवन गरेमा त्यसपछि भने सेवन गर्नु नपर्ने भए पनि पर्वतमा भने यो पटक १३औँ चरणमा औषधि खुवाउन थालिएको छ। हरेक नागरिकले अनिवार्यरूपमा औषधि खानुपर्ने बाध्यता गराउन ‘पारिवारिक औषधि सेवन कार्ड’ अनिवार्य गरेर औषधि सेवन गराउन लागिएको निमित्त कार्यालय प्रमुख पौडेलले बताए।
‘म आफै खान्छु भन्ने, स्वयंसेविकाबाट औषधि लिने तर नखाइ फालिदिने गरेका कारण अझै पाँच प्रतिशतमा सङ्क्रमण देखिएको छ। यही कारण कोभिड खोप कार्डजस्तै हात्तीपाइलेको औषधि सेवन कार्ड बनाएर खुवाउन लागिएको हो”, उनले भने, “त्यो कार्ड नदेखाई वडा वा नगरपालिकाका सेवा लिन नपाउने अवस्था हुन सक्छ। ती ठाउँमा आवश्यक परे प्रहरी उपस्थित गराएर भए पनि स्वास्थ्यकर्मीको अगाडि औषधि सेवन गराउनुपर्ने अवस्था पनि रहन सक्छ।”
व्यक्तिका लागि नभई परिवारका सदस्य सबैको एकमुष्ट कार्ड बन्ने भएका कारण परिवारका कोही एकजनाले मात्रै औषधि सेवन नगरे पनि कार्ड नपाइने पौडेल बताए। हरेक वर्ष समस्या देखिएपछि यो वर्ष कडाइका साथ औषधि सेवन गराउन प्रशासनसँग समेत कुरा भइरहेको उनको भनाइ छ।