किन बढ्दै गइरहेछ धुर्मुस–भरतपुर महानगरबीचको विवाद? गौतमबुद्ध क्रिकेट रंगशाला अझै अनिश्चित

चितवन, मंसिर ११ । धुर्मुस–सुन्तली फाउन्डेसनभरतपुर महानगरपालिकाबीचको विवाद झन् चर्किँदै गएको छ। प्रारम्भिक सम्झौताअनुसार चार वर्षअघि निर्माण सम्पन्न हुनुपर्ने गौतमबुद्ध क्रिकेट रंगशाला अझै अपूरो छ, त्यसमाथि दुई पक्षबीच ‘दायित्व र भुक्तानी’ विवाद समाधान हुन नसकेपछि गलफती झनै बढेको हो।

२०७५ माघ १६ गते गरिएको सम्झौताअनुसार फाउन्डेसनले ६ महिनामा डिपिआर तयार गरी दुई वर्षभित्र रंगशाला बनाइसक्नुपर्ने थियो। तर कोभिड महामारी, जनस्तरबाट सहयोग संकलनमा आएको कठिनाइ र महायज्ञमा प्रतिबद्ध रकम नउठेपछि काम रोकियो। अन्ततः २०७८ पुसमा फाउन्डेसनले रंगशालाको स्वामित्व महानगरलाई हस्तान्तरण गर्‍यो।

तर, उधारोमा किनेका सामग्री र गरिएका कामको भुक्तानीको विषय अहिले विवादको केन्द्रमा छ। प्रतिवेदन अनुसार फाउन्डेसनले ५९ करोड ९० लाख रुपैयाँ बराबरको काम गरेको छ, जसमा १८ करोड ४३ लाख रुपैयाँ उधारो उठ्न बाँकी छ। सीताराम कट्टेल ‘धुर्मुस’ चार वर्षदेखि यही रकम भुक्तानी गराउने प्रयासमा दौडधूप गरिरहेका छन्।

संघीय मन्त्रिपरिषद्ले दुई पटक १२/१२ करोड रुपैयाँ पठाए पनि त्यो बजेट फ्रिज भयो। पछिल्लो व्यवस्था अनुसार त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकले संरचनाको मूल्यांकन गरेर प्रतिवेदन बुझाइसकेको छ। तर, महानगरले अझै भुक्तानीको स्पष्ट कानुनी आधार नपाएको भन्दै निर्णय गर्न सकिरहेको छैन।

भरतपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलका अनुसार, “प्रचलित कानुनअनुसार सरकारी खरिद प्रक्रिया पूरा नभएकाले उधारो भुक्तानी गर्ने कानुनी आधार भेटिएको छैन।” उनीहरू कानुनविद, विज्ञ र निकायहरूसँग निरन्तर परामर्शमा रहेको बताउँछन्।

फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल भने महानगरको दाबीलाई हास्यास्पद भन्दै आएका छन्। “स्वामित्व लिँदासम्म केही नभनेर अहिले आएर सार्वजनिक खरिद ऐनको बहानामा भुक्तानी रोकिएको हो,” उनी भन्छन्। फाउन्डेसनले स्टकमा रहेका सामग्री बेचेर सप्लायर्सको उधारो तिर्न अनुमति माग्दा पनि महानगरले नदिएको कट्टेलको आरोप छ।

भरतपुरकी मेयर रेनु दाहाल भने भन्छिन्, “हामीसँग रकम छुट्ट्याइएको थियो, तर प्रक्रिया विधिसम्मत हुनुपर्छ भनेर सुझाएका थियौं। फाउन्डेसनले त्यसमा सहमति जनाएन।”

रंगशालाका महायज्ञ संयोजक विजय सुवेदी र समितिका संयोजकहरू भने समस्या चर्किँदै गएर धुर्मुस, महानगर र सप्लायर्स सबै नै असहज स्थितिमा पुगेको बताउँछन्। उनीहरूको राय छ—अब विवाद तन्काउने होइन, समाधानतिर अघि बढ्ने बेला हो।

धुर्मुसले पनि अब “मुक्ति चाहेको” बताएका छन्।
“सप्लायर्सको पीडा अन्त्य होस्, अनि मात्रै म आरामले बस्न सक्छु,” उनको भावुक प्रतिक्रिया छ।

गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण प्रोजेक्ट अहिले पनि अस्पष्टता, कानुनी द्विविधा र वित्तीय अन्योलमा अड्किएको छ। दुई पक्षबीचको गलफती अझै टुंगोमा नपुग्दा यो राष्ट्रिय गौरवको सपना प्रोजेक्ट कहिले पुरा हुन्छ भन्ने प्रश्न उस्तै छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×