काठमाडौँ - नेपाल राष्ट्र बैकले सात अर्ब ६९ करोड रुपैयाँको बिकास ऋणपत्र बिक्री गर्नै तयारी गरेको छ । राष्ट्र बैंकका अनुुसार यही चैत आठ गते बिहिबार अपरान्ह तीन बजेसम्ममा बोलकबोलका माध्यमद्धारा छ बर्षे अवधिको बिकास ऋणपत्र २०८६ “ङ” (६ वर्षे) बिक्री गर्न लागिएको हो ।
राष्ट्र बैंकका अनुसार ऋणपत्र खरिदको लागि बैक तथा वित्तीय संस्था, गैर—बैक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले सो दिन अपरान्ह तीन बजेसम्म आवेदन दिनुपर्ने छ । राष्ट्र बैंकका अनुसार निष्काशन मिती २०८० चैत नौं गते तोकिएको ऋणपत्रको सावाँ भुक्तानी मिती २०८६ चैत नौं गते तोकिएको छ । खरिद गरिएको उक्त ऋणपत्र धितो राखेर कर्जा लिन र दिन समेत पाईने छ । राष्ट्र बैंकका अनुसार खरिद गरिएको ऋणपत्रमा अर्धबार्षिकरुपमा व्याज भुक्तानी हुुने र आर्जित व्याजदरमा व्याजकर समेत लाग्ने राष्ट्र बैंकको भनाई छ ।
इच्छुक खरीदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीरुपमा सहभागी हुनसक्ने राष्ट्र बैंकले जनाएको छ । बिक्री गरिने कुुल ऋणपत्र मध्येमा प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलार्ई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् छ अर्ब ५३ करोड ६५ लाख र एक अर्ब १५ करोड ३५ लाख रुपैंयाँ छुट्ट्याइएको छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोलप्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिने छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्ट्याइएको रकम भन्दा बढी रकमको बोलप्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँड गरिने जानकारी समेत राष्ट्र बैंकले गरेको छ ।
खरीद गर्न पाउने सीमा घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्म खरिद गर्न सकिने छ । ऋणपत्र खरीदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रिया अन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्ने राष्ट्र बैंकको भनाई छ ।