स्कूल गइरहेकी हजुर आमा
बन्द कारागारको
ढोका खोलेर मैले आकाशको उज्यालो हेरेँ।
अब यी सम्पूर्ण रंगहरु मेरा हुन्।
लार्भाबाट निस्केर
मैले पुतली पङ्ख फटपटाएँ।
अब यो बतास मेरो हो।
गाउँको एक विहान
अध्याँरो इनारबाट म एक बाल्टी बाहिर आएँ
सदियौँ देखीको प्यास अब मेरो हो।
अब म आफ्नै ठेगाना बताउन सक्नेछु।
मैले कोरेका अक्षरहरु मेरा कान्छा सन्तानहरु हुन्
जो पहिलो हुन सकेनन्, जस्को पीर धेरै हुन्छ।
-जीवनभर रोइसकेपछि थाहा पाएँ
आँसु अक्षरले बनेको हुन्छ
-जीवनभर बोलेपछि थाहा पाएँ
प्रत्येक आवाजमा शब्द हुन्छ
-संसार हेरि सकेपछि आँखा बस्ने बेला थाहा पाएँ
प्रत्येक दृश्यको नाम हुन्छ।
-जीवनको हिसाव हुन्छ
-मैले थाहा पाएँ अब
-उमेरको पनि अंक हुन्छ ।
अब यी अक्षरहरुले मलाई लेखुन्
अब यी अंकहरुले मेरो हिसाव गरुन्।
पौने शताब्दी लामो ओढारको बाटो हिँडेर
म सूर्यास्तमा
आकाश मूनी आएँ
-अब म मान्छे भएँ।।
(दाङका कवि नविन अभिलाषी हाल कोहलपुर बसोबास गरिरहेका छन्।)