काठमाडौँ । पश्चिमी वायुको प्रभावले आज पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको प्रभावले प्रदेश नं १, २ तथा सुदूरपश्चिमी प्रदेशमा आंशिक बदली भई पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका अन्य भू–भागको मौसम सामान्यतया सफा रहने बताइएको छ। त्यस्तै, माघ १ गते प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही प्रदेश नं १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशभर चिसो अझै बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन सबैमा अनुरोधसमेत गरेको छ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम चार दशमलव छ डिग्री र अधिकतम तापक्रम १६ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ। त्यस्तै, आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस पाँच दशमलव चार डिग्री र सबैभन्दा धेरै जनकपुरको अधिकतम तापक्रम २२ दशमलव आठ डिग्री सेल्सियस रहेको छ।