काठमाडौँ - लागुऔषधविरुद्धको सन्देश दिने फिल्म ‘सरी मम’को शीर्ष गीत सार्वजनिक भएको छ। अभिनेता राजेश हमालको उपस्थितिमा काठमाडौंमा आयोजित कार्यक्रममा निर्माताले गीतसहित रिलिज मिति पनि घोषणा गरे। यो फिल्म मंसिर १५ मा रिलिज हुने भएको छ।
निर्माता विनोद लामाले फिल्मलाई १ साता मात्रै हलमा प्रदर्शन गर्ने बताएका छन्। फिल्मलाई बागमती प्रदेशमा हलमै रिलिज गर्ने र अन्य प्रदेशमा चाहिं च्यारिटी शैलीमा प्रदर्शन गर्ने जनाएका छन्।
अभिनेता हमालले लागुऔषधविरोधी अभियानलाई सरकारले सञ्चालन गर्नुपर्ने बताएका छन्। सामाजिक सन्देशसहितको फिल्म निर्माण गरेकोमा उनले निर्मातालाई बधाई समेत दिएका छन्।
प्याब्सन केन्द्रीय उपाध्यक्ष दीपा थापाले स्कुल कलेजमा पढ्दै गरेका थुप्रै विद्यार्थी कुलतको सिकार बनिरहेको भन्दै त्यो बाटो बन्द गर्न यो प्रकारको फिल्मले सकारात्मक सञ्चार दिने बताइन्। यो फिल्मको प्रदर्शनमा निर्माताले प्रदेश सरकार, नगरपालिका, गाउँपालिका, प्रहरीसँगै जेसिज, नार्कोनन, प्याब्सन, एन-प्याब्सन, हिसान, शिक्षक महासंघ लगायतसँग सहकार्य गरेका छन्।
जतिसक्दो लक्षित वर्गमा फिल्म देखाउने उद्देश्य लिइएको लामाले बताएका छन्।
नवीन बोगटीको निर्देशनमा बनेको फिल्ममा सरोज खनाल र सरिता लामिछानेसँगै एलिस राई, प्रभात पल, प्रविल कँडेल, आरबी कटुवाल, बिहान श्रेष्ठ, युनिसा बजगाईं, रेजिना मगर, सरोज बखुरेल, लालमणि भण्डारीको अभिनय रहेको छ।
सार्वजनिक गीतमा प्रज्ज्वल श्रेष्ठको स्वर रहेको रहेको छ भने शब्द तथा संगीत प्रज्वल श्रेष्ठ र नबीन बोगटीको रहेको छ।