सुर्खेत । कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन शुरु भएको छ । प्रदेश सभाको (बुधवार)को बैठकमा प्रतिपक्ष दल र सत्ता गठबन्धनका सांसदहरुले नै सरकारको आलोचना गरेका छन् ।
संसद बैठकमा बोल्दै नेकपा एमाले बजेटको उल्लेख्य रकम सरकारले दान दान्तव्यमा बाँड्दै जाने खालका कार्यविधि निर्माण गरेको आरोप लगाए। उनले पूर्वाधारका पूँजीगत बजेट कटौती गर्दै हिँडेकाले यस्तो अवस्थामा कसरी कर्णाली बन्छ भन्ने प्रश्न गरे ।
तर सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक ठम्मर विष्टले सरकार विस्तार गर्न नसकेको भन्दै मुख्यमन्त्री जीवनबहादुर शाहीको आलोचना गरे । महिनौंसम्म मन्त्रिपरिषद् विस्तार नभएका कारण व्यवस्थामाथि नै प्रश्न उठेको भन्दै विष्टले तत्काल एक्सन लिन मुख्यमन्त्री शाहीलाई सुझाव दिए ।
आजको बैठकमा धारणा राख्नुभएका नेपाली काँग्रेसका सांसद यज्ञबहादुर विसी र नेकपा एकीकृत समाजवादीका सांसद देवी ओलीले विगतका कमिकमजोरीलाई आत्मसाथ गर्दै सबैको सहकार्यबाट प्रदेश निर्माणमा जुट्नु पर्ने बताए ।
प्रदेश सभामा पेश गरिएको कर्णाली प्रदेश विनियोजन र आर्थिक विधेयक २०७८ फिर्ता लिएर विनियोजन र आर्थिक अध्यादेश आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले पेश गर्नुभएको छ । संसदमा पेश भएको अध्यादेशमाथि छलफल अर्को बैठक गरिनेछ । अर्को बैठक माघ २ गते आइतबार बस्ने गरी स्थगित गरिएको छ ।