सुर्खेत - सुर्खेतको सिम्ता गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन्।
नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को गठबन्धनलाई पराजित गर्दै अध्यक्षमा ऐनबहादुर चन्द र उपाध्यक्षमा गोमा शर्मा विजयी भएका हुन्। चन्दले ६ हजार १७० तथा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका वीरेन्द्र रावतले पाँच हजार ८५२ मत प्राप्त गरे।
उपाध्यक्षमा विजयी शर्माले ६ हजार ९१ तथा उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका चित्रबहादुर हमालले पाँच हजार ३११ मत प्राप्त गरे। नौ वडा रहेको सिम्तामा एमालेले पाँच र कांग्रेसले चार वडामा जित हासिल गरेको छ। विसं २०७४ को स्थानीय तह निर्वाचनमा पनि यहाँ अध्यक्ष/उपाध्यक्षमा एमाले उम्मेदवार नै विजयी भएका थिए।
सिम्ताको मतगणना सम्पन्न भएसँगै सुर्खेतका नौवटै पालिकाको निर्वाचन परिणाम घोषणा भएको छ। कांग्रेसले चार पालिकाको प्रमुख, एक पालिकाको उपप्रमुख, एमालेले चार पालिकाको प्रमुख, एक पालिकाको उपप्रमुख र माओवादी केन्द्रले एक पालिकाको प्रमुख पदमा जित हासिल गरेको छ।