काठमाडौँ - युभेन्टसले इटालियन सिरी ‘ए’अन्तर्गत आइतबार राति भएको खेलमा इन्टर मिलानलाई २-० गोलको नतिजामा पराजित गरेको छ। घरेलु मैदान टुरिनमा भएको खेलको पहिलो हाफमा युभेन्टसले इन्टरको रक्षापंक्ति छिचोल्न सकेको थिएन.
दोस्रो हाफमा अझै आक्रामक शैली अपनाएको युभेन्टसका लागि ५२औं मिनेटमा एड्रियन राबियोटले पहिलो गोल गरेका थिए। प्रतिस्पर्धात्मक खेलमा इन्टरले आक्रामणका अवसर बुने पनि खेलमा फर्किन सकेन।
निर्धारित ९० मिनेटको खेल सकिन ६ मिनेट बाँकी रहँदा निकोलो फागियोलीले गरेको गोलसँगै युभेन्टसले २-० को जित सुनिश्चित गर्यो।
जितसँगै १३ खेलबाट २५ अंक जोडेको युभेन्टस अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ। समान खेलबाट २४ अंक जोडेको इन्टर सातौं स्थानमा झरेको छ।