म्याग्दी। जिल्लाको रघुगङ्गा गाउँपालिकाले जिप दुर्घटनाका घाइतेलाई उपचार र मृतकका परिवारलाई किरियाखर्च उपलब्ध गराउने भएको छ। रघुगङ्गा–१ बेगमा सोमबार साँझ जिप दुर्घटना हुँदा वडा सदस्यसहित चारको मृत्यु र चारजना घाइते भएका थिए। प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले घाइतेलाई जनही रु एक लाखका दरले उपचार खर्च उपलब्ध गराइने जानकारी दिए। मृतकका परिवारलाई किरिया खर्चका लागि रु ५० हजारका दरले उपलब्ध गराउने निर्णय भएको उनले बताए। बेनीदेखि बेगको सिम जाँदै गरेको ग१ज ७२५१ नम्बरको जिप औँलामा दुर्घटना हुँदा बेगकी वडा सदस्य गौमाया विक, चालक दुढबहादुर थापा, यात्रु खिमु पुन र खिमानन्द शर्माको मृत्यु भएको थियो। मृतक र घाइते सबै बेगका हुन्। ५४ वर्षीय बलबहादुर बिक, २३ वर्षीय मनोज पुन, २० वर्षीय भीम फगामी र ३० वर्षीय ज्ञानबहादुर शेरपुञ्जालाई बेनी अस्पतालले मणिपाल शिक्षण अस्पताल पोखरा रिफर गरेको छ। प्रहरीका अनुसार जिप सडकदेखि करिब तीन सय मिटर तल खसेको थियो। मङ्गलबार बिहानै प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बताए। यसैगरी, रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारी, उपाध्यक्ष कमला तिलिजा र प्रशासकीय अधिकृत अमृत सुबेदीले आज शोक विज्ञप्ति जारी गरेर मृतकप्रति श्रद्धाञ्जलि र घाइतेहरुको स्वास्थ्य लाभको कामना गरेका छन्। वडा सदस्यको निधन भएको शोकमा गाउँपालिका, शाखा र वडा कार्यालय तथा बेगका विद्यालयहरु आजका लागि बन्द गरिएको छ।