काठमाडौँ - बखुण्डोल बुद्धपार्क निर्माण उपभोक्ता समितिले काभ्रेपलाञ्चोकको धुलिखेलमा सामुहिक रूपमा ल्होछार मनाउँदै सरकारले ल्होछारका लागि दिँदै आएको सार्वजनिक बिदामा केही दिन थप गर्नुपर्ने माग गरेको छ।
तेमाल गाउँपालिका–८ का जय सिं तामाङले ल्होछार नयाँ वर्षको पर्वको रुपमा भव्यताका साथ मनाउने हुँदा अहिले दिँदै आएको एक दिनको बिदालाई बढाउन सरकारसँग आग्रह गरेका हुन्। बखुण्डोल बुद्धपार्क निर्माण उपभोक्ता समितिले ल्होछार कार्यक्रमको आयोजना गरेपछि स्थानीय बासिन्दाले समेत सहभागिता जनाएर संस्कार र संस्कृतिको बारेमा बुझ्न र प्रत्यक्ष हेरेर जान्न पाउने अवसर मिलेको उनको भनाइ छ।
तामाङ समुदायको बाहुल्यता रहेको काभ्रेपलाञ्चोक जिल्लामा रोशी, तेमाल र खानीखोला गाउँपालिका तथा नमोबुद्ध नगरपालिकाले १८, १९ र २० गते गरी तीन दिन सार्वजनिक बिदा दिएको छ, भने चौरीदेउराली गाउँपालिकाले १८ र १९ गते दुई दिन सार्वजनिक बिदा दिएको छ। त्यस्तै, महाभारत गाउँपालिकाले १९ र २० गते गरी दुई दिन सार्वजनिक बिदा दिएको छ।