नेपाली कांग्रेसभित्र महाधिवेशनसम्बन्धी विवाद तीव्र बन्दै गएसँगै सभापति शेरबहादुर देउवा पुनः सक्रिय बनेका छन्। पार्टीभित्र उत्पन्न मतभेद समाधानको प्रयासस्वरूप उनले आइतबार पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको संयुक्त बैठक आह्वान गरेका छन्।
दिउँसो १ बजे देउवाको महाराजगन्जस्थित निवासमा बस्ने बैठकमा इतर समूहका नेता डा. शेखर कोइराला, पूर्व गृहमन्त्री रमेश लेखकसहितका वरिष्ठ नेताहरूलाई समेत सहभागी हुन निम्तो दिइएको स्रोतले जनाएको छ।
गत असोज २८ गते उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएपछि एक महिनासम्म पार्टी गतिविधिबाट टाढा देखिएका देउवा पछिल्लो समय महाधिवेशन विवाद चर्किएपछि सक्रिय बनेका हुन्। उनले विगत केही दिनदेखि नेताहरूसँग छुट्टाछुट्टै भेटघाट गर्दै आइतबार दुबै धारका नेताहरूलाई एकै ठाउँमा छलफलका लागि बोलाएका छन्।
कांग्रेसभित्र १५औँ महाधिवेशन फागुन २१ मा तोकिएको प्रतिनिधिसभा निर्वाचनअघि गर्ने कि पछि गर्ने भन्ने विषयमा मतभेद बढेको छ। पूर्वउपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहित केही नेताहरू निर्वाचनअघि महाधिवेशन हुन नहुनेमा अडानमा छन्। यद्यपि मध्यमार्गी नेताहरूको पहलपछि केही नेताहरू निर्वाचनअघि प्रक्रिया सुरु गर्न तयार भएका छन् तर निधि र सिटौला सहमत नहुँदा विवाद अझै समाधान हुन सकेको छैन।
देउवाले बोलाएको आजको बैठकले नियमित वा विशेष महाधिवेशन गर्नेबारे टुंगो लगाउने अपेक्षा गरिएको छ।