काठमाडौँ - आयोजक राष्ट्र कतार फिफा विश्वकप फुटबल २०२२ बाट बाहिरिएको छ। कतार जारी विश्वकपको समूह चरणबाट बाहिरिने पहिलो राष्ट्रसमेत बनेको छ। समूह चरणको खेल अन्तर्गत शुक्रबार राति नेदरल्यान्ड्स र इक्वेडरले १-१ गोलको बराबरी खेलेपछि कतार बाहिरिएको हो।
समूह ‘ए’ मा रहेको कतारले शुक्रबार नै सेनेगलसँग ३-१ ले पराजित भएको थियो। कतारले २ खेलमा २ हार व्यहोर्दै अंक जोड्न सकेन। १ खेल खेल्न बाँकी हुँदा कतार पुछारमा रहेको छ। यस समूहमा नेदरल्यान्ड्स ४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ।
इक्वेडर ४ अंक जोडेर दोस्रो तथा सेनेगल ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।
सन् २०१० मा दक्षिण अफ्रिकापछि कतार नकआउट चरण नपुग्ने राष्ट्र बनेको छ। यस्तै समूहको २ खेल हार्ने कतार पहिलो आयोजक राष्ट्र बन्यो।
कतारले अब अन्तिम खेलमा नेदरल्यान्ड्सको सामना गर्नेछ।