काठमाडौँ - श्रम गन्तव्य मुलुकमा कोरोना महामारीको चाप खुकुलो हुँदै गर्दा नेपालबाट श्रमका लागि विदेशिने नेपालीको सङ्ख्या पनि उल्लेख्य बढ्न थालेको छ। चालू आर्थिक वर्ष २०७९/८० को पहिलो दुई महिनामा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या अघिल्लो वर्षको सो अवधिको तुलनामा दोब्बरभन्दा बढीले वृद्धि भएको छ।
वैदेशिक रोजगार विभागका अनुसार गत साउन र भदौमा एक लाख ३९ हजार जनाले श्रम स्वीकृति लिएर विदेशिएका छन। २०७८ साउन र भदौमा ६१ हजार ४६८ जनाले मात्र श्रम स्वीकृति लिएका थिए। यसअनुसार यो साउन र भदौमा ७७ हजार ५३२ जनाले बढी हुन्छ।
विभागका अनुसार गत भदौमा मात्रै ७६ हजार ४०३ जनाले श्रम स्वीकृति लिएका छन् भने २०७८ भदौमा जम्मा ३६ हजार ४० जनाले श्रम स्वीकृति लिएका थिए। गत साउनमा ६३ हजार ५९७ जनाले श्रम स्वीकृति लिएकामा अघिल्लो साउनमा २५ हजार ४२८ जनाले श्रम स्वीकृति लिएका थिए।
यो वर्षको साउन महिनामा भन्दा भदौमा वैदेशिक रोजगारीमा जानका लागि १३ हजार ३६४ जना बढीले श्रम स्वीकृति लिएका छन्। विभागका महानिर्देशक उमाकान्त आचार्यले श्रम गन्तव्य देश र श्रमिक पठाउने देशमा कोरोनाको प्रभाव कम भएकाले वैदेशिक रोजगारी कोरोना सामान्य हुनेबित्तिकै गन्तव्य देशमा माग बढेकाले श्रम स्वीकृति लिनेको सङ्ख्या पनि बढेको बताए। गोरखापत्र दैनिकबाट