काठमाडौँ - भर्जिल भान डाइकले गरेको गोलमा नेदरल्यान्ड्सले आइतबार राति बेल्जियमलाई १-० ले हराउँदै यूईएफए नेसन्स लिगको फाइनलमा स्थान बनाउन सफल भएको छ।
योहान क्रुफ एरिनामा भान डाइकले ७३ औँ मिनेटमा गरेको गोल नेदरल्यान्ड्सको जितमा निर्णायक बन्यो। जितसँगै लुइस भान हालको नेदरल्यान्ड्स अर्को वर्ष हुने नेसन्स लिग ‘ए’को फाइनलमा स्थान बनाउन सफल भएको छ।
बेल्जियमलाई फाइनलमा स्थान बनाउनका लागि नेदरल्यान्ड्सलाई कम्तिमा ३ गोलको अन्तरमा हराउनु पर्ने थियो। तर, १-० ले पराजित भएपछि बेल्जियमको सम्भावना समाप्त भएको हो। पहिलो चरणको खेलमा पनि नेदरल्यान्ड्सले बेल्जियमलाई ४-१ ले हराएको थियो।
जितसँगै लिग ‘ए’को समूह-४ मा नेदरल्यान्ड्सले ६ खेलबाट १६ अंक जोडेको छ। समान खेलबाट १० अंक जोडेको बेल्जियम दोस्रो स्थानमा रहेको छ। ७ अंक जोडेको पोल्यान्ड तेस्रो स्थानमा रहेको छ भने वेल्स १ अंकका साथ पुछारमा रहेको छ।