महोत्तरी - गए राति महोत्तरी जिल्लाको विभिन्न पालिकामा आएको हावाहुरीका कारण विद्यालय, पोल्ट्री फार्म तथा घरमा १४ लाख बढीको क्षति भएको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार हावाहुरीका कारण जिल्लाको मनरासिस्वा नगरपालिका–२ स्थित कुलदीप निमाविको पूरै छाना उडाउँदा रु चार लाखको क्षति भएको हो।
त्यस्तै सोही नगरपालिकाको वडा नं ३ मा स्थानीय शम्भु यादवले सञ्चालन गरेको पोल्ट्री फार्मको छानो उडाउँदा रु तीन लाख ५० हजारको क्षति भएको छ। हावाहुरीले जिल्लाको महोत्तरी गाउँपालिका–२ बस्ने सत्यनारायण मण्डलको खपराको घर पूरै लडाउँदा रु पाँच लाख, सुकेश्वर मण्डलको बाँस र खपराले छाएको घर लडाउँदा रु ६० हजार र रामाज्ञा मण्डलको बाँस र खपराले छाएको घर लडाउँदा रु ९५ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
यसरी हावाहुरीले महोत्तरीको विभिन्न पालिकामा गए राति रु १४ लाख पाँच हजार बराबरको क्षति पुर्याएको प्रहरीले जनाएको छ।