पुरातात्विक महत्वका वस्तुहरू विभागलाई हस्तान्तरण

भक्तपुर- महानगरीय प्रहरी परिसर भक्तपुरले विभिन्न स्थानबाट बरामद गरिएका ऐतिहासिक, पुरातात्विक एवम् धार्मिक महत्वका २४ थान मूर्ति आज पुरातत्व विभागलाई हस्तान्तरण गरेको छ। परिसरका प्रमुख प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले ती मूर्तिहरू पुरातत्व विभागका पुरातत्व अधिकृत सविता न्यौपानेलाई परिसरमा आयोजित कार्यक्रममा हस्तान्तरण गरेका हुन्।

हस्तान्तरण गरिएका मूर्तिहरूमा काठको मूर्ति चार थान, ढुङ्गाको मूर्ति १२, माटोको मूर्ति एक, ढलोटको मूर्ति चार, फलामको मूर्ति एक, क्रिष्टलको मूर्ति एक र चाँदीको थाल एक थान रहेका छन्। हस्तान्तरण गरिएका सामग्रीहरूमा टुँडाल, भागिरथ, विष्णुको मूर्ति, ढलोटका जोडी सिँह, माटोको भगवती मूर्ति, गणेश मूर्ति लगायतका प्राचीन सम्पदाहरू रहेका छन्।

विगत लामो समयदेखि भक्तपुरको विभिन्न स्थानबाट बेवारिसे अवस्थामा फेला पारी परिसरमा सुरक्षित राखिएका पुरातात्विक महत्वका सामग्रीहरूको थप सुरक्षा र यसको उपयोगिताका लागि विभागलाई हस्तान्तरण गरिएको एसपी श्रेष्ठले बताए। 

विभागले प्राप्त सामग्रीलाई काठमाडौँ छाउनीस्थित सङ्ग्रहालयमा राखिने पुरातत्व अधिकृत न्यौपाने जानकारी दिए। उनले विभागको समितिले प्राप्त वस्तुहरूको धार्मिक, ऐतिहासिक एवम् पुरातात्विक महत्वबारे थप खोज तथा अनुसन्धान गरी अभिलेख राख्ने बताए। उनले कोही स्थानीय समुदायले प्रमाणसहित दाबी गर्न आएका पुनःस्थापनाका लागि प्रदान गरिने जानकारीसमेत दिए। प्राप्त मूर्तिहरू अधिकांश मल्लकालीन मूर्तिहरू रहेको अधिकृत न्यौपानेले बताए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×