तनहुँमा खेलकुदका गतिविधि बढ्यो

काठमाडौँ - कोभिड–१९ को जोखिम कम हुँदै गएपछि तनहुँमा खेलकुदका गतिविधि बढेका छन्। जिल्लाका स्थानीय तहले दौड, फुटबल, भलिबल, व्याडमिन्टन, डोरी तान्ने खेलकुद सञ्चालन गर्न थालेका हुन्।

व्यास नगरपालिकाले महिला हाफ म्याराथन सम्पन्न गर्नाका साथै अल्ट्रा म्याराथन र मेयर–उपमेयर छात्रछात्रा फुटबल प्रतियोगिता सञ्चालन गर्न लागेको छ। माघ १६ गते सहिद दिवसका अवसरमा हुने पाँचौँ अल्ट्रा म्याराथन कोभिडका कारण स्थगन भएकामा फागुन २८ गते सञ्चालन गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए। यस्तै, गत वर्षदेखि नारी दिवसका अवसर पारेर सुरु गरिएको महिला हाफ म्याराथन फागुन २४ गते सम्पन्न भएको थियो।

व्यास नगर अल्ट्रा म्याराथन ४४ किमी दूरीको छ। व्यास नगरपालिका–५ मानुङबाट सुरु हुने म्याराथन वडा नं ८ पुलिमराङसम्म ४४ किमी दूरीको रहनेछ। म्याराथन मानहुँकोट सिद्धमार्ग हुँदै अलैचे–चापाघाट–अनसन चौतारी–सफासडक–भोर्लेटार चोक–बैरेनी–दुम्सी–कलेस्ती–पाथ्रा–सत्रसय–बानियाँ डिही–बर्लाची–सोतीवेशी–बगुवा रिस्ती–बाहुन पोखरा हुँदै पुलिमराङमा पुगेर सकिनेछ।

नगरपालिकाले म्याराथनलाई पर्यटन प्रवर्द्धनसँग जोड्न खोजेको छ। मगर र गुरुङ गाउँलाई खेलकुदबाट जोडेर प्रचारप्रसार गर्ने उद्देश्य रहेको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए। “पर्यटकीय गाउँ मानुङ र सहिदहरूको गाउँ पुलिमराङलाई खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको म्याराथनले त्यस ठाउँको प्रवद्र्धन हुने विश्वास गरेका छौँ”, उनले भने। 

अल्ट्रा म्याराथनमा प्रथमलाई रु ८५ हजार ७८, द्वितीयलाई रु ६५ हजार ७८, तृतीयलाई रु ५५ हजार ७८ र सान्त्वना पुरस्कार पाँच जनालाई जनही रु १६ हजार ७८ प्रदान गरिनेछ। अल्ट्रा म्याराथनमा २०० र महिला हाफ म्याराथनमा १५० धावक सहभागी हुने अनुमान गरिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×