काठमाडौं । भारतका प्रमुख राज्यहरुमा कोभिड १९ को नयाँ भेरियन्टको संक्रमण बढ्दै गएपछि राज्य सरकारहरुले निषेधाज्ञा जारी गरेका छन् ।
राजधानी नयाँ दिल्लीमा सप्ताहान्तमा निषेधाज्ञा जारी गरिएको छ भने निजी कम्पनीहरुलाई ५० प्रतिशत कर्मचारीबाट कार्य सञ्चालन गर्न निर्देशन दिइएको छ ।
यस्तो विषम अवस्थामा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पुस २६ गते भारत भ्रमणमा जाने भएका छन् ।
देउवाले २६ गते भाइब्रेन्ट गुजरात सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यक्रम समेत रहेको छ ।
प्रधानमन्त्री सचिवालयका अनुसार उनले सोही दिन भारतीय समकक्षी नरेन्द्र मोदीसँग गान्धीनगरमा औपचारिक भेटवार्ता गर्नेछन् । देउवाले सबै भेटघाट कार्यक्रम गान्धीनगरमै गर्ने तय भएको छ ।
यसअघि गत वर्ष भारतकै कुम्भ मेलामा सहभागी भएका पूर्व राजा ज्ञानेन्द्र शाहलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।