भारतका कोइला टाइकुन गौतम अदानी बने एसियाकै सर्वाधिक धनी व्यक्ति

नयाँ दिल्ली- भारतमा कोइला टाइकुन गौतम अदानीले पहिलोपटक मुकेश अम्बानीलाई पछि पार्दै एसियाकै सर्वाधिक धनी व्यक्तिको नाम कमाएका छन्। यसमा हरित ऊर्जाले उनको सम्पति बढाएर ९०.४ अर्ब डलर पुर्याएको बताइएको छ। 

फोब्र्सका अनुसार मुकेशलाई पछि पार्दै अदानी अहिले विश्वका सर्वाधिक धनीहरुको सूचीमा शीर्ष दशमा पुगेका हुन्। गत वर्ष उनको व्यक्तिगत सम्पति १२ अर्ब डलरले वृद्धि भएको छ। यति मात्र नभएर उनी फेसबुकका संस्थापक मार्क जुकरबर्ग भन्दा अगाडि आउन पनि सफल भएका हुन्। जुकरबर्गको कम्पनी मेटाको शेयर नराम्ररी ओरालो लागेपछि उनको व्यक्तिगत सम्पति पनि ३० अर्ब डलरले घटेको थियो। 

अदानी यसअघि अष्ट्रेलियाको कोइला उत्खनन् परियोजनालाई लिएर विवादमा आइरहेका थिए। तर आफ्नो बाटो बदल्दै उनले हरित ऊर्जामा लगानी बढाएका हुन्। 

उनको अदानी ग्रुपले उनको गृहजिल्लामा रहेको भारतको सबैभन्दा ठूलो बन्दरगाह, मुन्द्रालाई पनि सञ्चालन गर्दै आएको छ। त्यस्तै मुम्बइ अन्तर्राष्ट्रिय विमानस्थलको ७४ प्रतिशत हिस्सा पनि अदानीकै स्वामित्वमा रहेको छ। 

तर गतवर्ष उनले हरित ऊर्जातर्फ केन्द्रित रहँदै अदानी ग्रिन एनर्जी स्थापित गरेका हुन् जुन हाल उनको सबैभन्दा मूल्यवान् कम्पनी बनेको छ। यसको शेयर पछिल्लो एक वर्षमा दुई गुणाले बढेको छ। अदानी समूहले हरित ऊर्जामा ७० अर्ब डलर खर्च गर्ने तयारी गरिरहेको छ जसले यसलाई विश्वकै सबैभन्दा ठूलो नवीकरण ऊर्जाा उत्पादक बनाउनेछ। 

अदानी वास्तवमा भारतको कार्बन उत्सर्जन कम गराउने प्रधानमन्त्री मोदीको लक्ष्यबाट प्रेरित भएका थिए। ग्लासगोको जलवायु सम्मेलनमा भारतले २०३० सम्ममा जिवास्म रहितको ५०० गिगावाट इन्धन क्षमता सिर्जना गर्ने र ५० प्रतिशत विजुली नवीकरण ऊर्जाबाट प्राप्त गर्ने संकल्प गरेको थियो। 

यस्तोमा अधिक उत्तम समयमा हरित ऊर्जा उद्योगमा प्रवेश गरेकाले पनि अदानी ग्रुप द्रुत गतिमा अगाडि बढिरहेको बताइएको छ। 

तर हरित ऊर्जामा ठूलो लगानीको योजना भएपनि अदानी ग्रुप अष्ट्रेलियाको कोइला खानी सम्बन्धी परियोजनाबाट पछि हटेको छैन। सो परियोजना विरुद्ध जिवास्म विरोधी अभियन्तादेखि वातावरण संरक्षणवादी र आदिवासी सम्मले आवाज उठाइरहेका छन्। साभार

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×