म्याग्दीका गाउँ-गाउँमा चुनावी चहलपहल बढ्यो

म्याग्दी - आसन्न  स्थानीय तह निर्वाचनका लागि जिल्लाका उम्मेदवारले चुनाव प्रचार तीव्र बनाएका छन्।  नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेशनल मङ्गोल अर्गनाइजेशनलगायत राजनीतिक दल र स्वतन्त्र उम्मेदवार भोट माग्न गाउँ पसेका छन्। दलका झण्डा र चुनाव चिह्न राखिएको गाडीमा स्पिकर जोडेर चुनावी गीत घन्काउँदै गाउँ टोलमा भोट माग्न आउने उम्मेदवारको लर्को लागेको धौलागिरि गाउँपालिका–७ ताकमका सुनिल भण्डारीले बताए। 

“फरक–फरक दलको वडा र पालिकाका उम्मेदवार घरदैलोमा हिँड्नुभएको छ”, उनले भने, “उम्मेदवार र नेताको चहलपहलले चुनावी माहोल बढाएको छ।”  उम्मेदवारले भेटघाट र घरदैलोलाई प्रभावकारी बनाउन जोड दिएका छन्। धेरै मतदातामाझ पुग्ने उद्देश्यले सभालाई भन्दा घरदैलोलाई जोड दिएका हुन्। दिउँसो सभा गर्ने कार्यतालिका बनाएका उम्मेदवारले साँझ र बिहानको समयमा घरदैलो गरेका छन्। नागरिकलाई आफ्ना प्राथमिकता जानकारी गराउने र मत माग्न उम्मेदवार घरदैलो, सभा र भेटघाटलाई प्रचारको माध्यम बनाएका छन्। 

छवटा स्थानीय तह र ४५ वडा रहेको म्याग्दीमा २३७ पदका लागि ७१८ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। धौलागिरि गाउँपालिका–१ गुर्जाका वडाध्यक्षसहित पाँचै जना जनप्रतिनिधि निर्विरोध भएका छन्। 

सबैजसो टोलमा कुनै न कुनै दलका उम्मेदवार भएकाले चुनावले चहलपहल बढाएको बेनपा–९ का केशव चोखालले बताए। घरदैलोका क्रममा उम्मेदवारले आफूलाई मत दिएर जिताउन आग्रह गरेका छन्। उनीहरुले मतदाताका समस्या, सुझाव, गुनासा सुन्ने र प्रतिबद्धता जनाएका छन्। 

सडक स्तरोन्नति गर्ने, खानेपानीको सुविधा विस्तार गर्ने, शिक्षा र स्वास्थ्य संस्थाको सेवालाई प्रभावकारी बनाउने, पालिका र वडाको सेवा प्रवाहलाई सहज बनाउने, विकास योजनालाई पारदर्शी तथा जनसहभागितामूलक बनाउने उम्मेदवारको कार्यसूची छ। 

माओवादीबाट मालिका गाउँपालिकाको अध्यक्षका उम्मेदवार रेशम जुग्जालीले गाउँका सडकमा बजारबाट सामान मात्र लैजाने नभएर गाउँका उत्पादन बोकेर बजार पुर्‍याउने र गाउँमा पैसा भित्र्याएर पुगेको सुविधा उपयोगका लागि सक्षम बनाउने मुद्दालाई जोड दिएको बताए। 

मालिका–६ दरवाङका खेमबहादुर पुनले गत चुनावमा जनप्रतिनिधिले खानेपानी ल्याउने वाचा अझै पूरा नगरेका गुनासो गरे।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×