दरबन्दीअनुसारका चिकित्सक नहुँदा अस्पताल सञ्चालनमा समस्या

काठमाडौँ । तीन लाख ५० हजार उदयपुरवासीको साझा अस्पतालका रूपमा रहेको जिल्ला अस्पतालमा लामो समयदेखि चिकित्सकको दरबन्दी पूर्ति नहुँदा अस्पताल सञ्चालनमा समस्या हुँदै आएको छ।

पचास शय्या क्षमताको अस्पतालमा १३ विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि अहिले एक स्थायी मेडिकल अधिकृतसहित अन्य दुई अस्थायी मेडिकल अधिकृतबाट अस्पताल सञ्चालन हुँदै आएको छ। जिल्ला अस्पतालमा उपचारका लागि आउने विभिन्न रोगीको चाप दिनदिनै बढ्दै गरे पनि सम्बन्धित रोगको विशेषज्ञको अभावमा उपचारमा असर परेको अस्पतालका कर्मचारी बताउँछन्। तेह्रजनाको दरबन्दीमध्ये अहिले एक स्त्री रोगसम्बन्धी र एक जनरल फिजिसियन र एक मेडिकल अधिकृतमात्र रहेकाले सोचेजस्तो उपचार हुन नसकेको जिल्ला अस्पतालका प्रमुख तथा मेडिकल अधिकृत जीवनारायण मण्डलले बताए। अस्पतालमा अधिकांश चिकित्सकसहित एनेस्थेसियाको पनि दरबन्दी खाली रहेको उनको भनाइ छ, “उपचारका लागि धेरै बिरामी आउने गर्नुहुन्छ, यहाँ विद्यमान जनशक्तिले भ्याउन सकेको छैन, अन्य विषयगत चिकित्सक नहुँदा सम्बन्धित रोगका बिरामी जिल्ला बाहिर पठाउन बाध्य छौँ”, मेडिकल अधिकृत मण्डलले भने।

अस्पतालमा दरबन्दीअनुसारको जनशक्तिको अभावका कारण नै जिल्लावासीले सोचेजस्तो सेवा पाउन नसक्नुको मुख्य कारण रहेको उहाँको धारणा थियो। दरबन्दी पूरा गर्न अस्पताल व्यवस्थापन समिति र अस्पताल प्रशासनले नै पहल गर्न नसकेको आरोप स्थानीयवासी रमेश दाहालको आरोप थियो। दुई वर्षअघि स्वास्थ्य विभागले रु. एक करोडमा खरिद गरेर पठाएको दुईवटा भेन्टिलेटर पनि एनेस्थेशिया चिकित्सकको अभावमा सञ्चालन हुन नसक्दा भेन्टिलेटर थन्किएर बसेको अस्पताल विकास समितिका सदस्य महेश रोकाले बताए। अस्पताल विकास समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका संयोजक खड्ग परियारले आफूहरुले पटकपटक सम्बन्धित निकायमा चिकित्सक र अन्य कर्मचारीको दरबन्दी पूरा गरिदिन अनुरोध गर्दै आएको दुई वर्ष बितिसके पनि सुनुवाइ नभएको गुनासो गरे।

पहाडी छिमेकी जिल्ला खोटाङबाट समेत यहाँ ठूलो सङ्ख्यामा बिरामी आउने गरेकामा अहिले आवश्यक जनशक्ति नहुँदा बिरामीलाई अन्यत्र लानु परेको परेको त्रियुगा नगरपालिका– ३ मोतिगडाका दुर्गाप्रसाद भट्टराईले बताए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×