नवौं राष्ट्रिय खेलकुद: मैदान भिज्दा खेल रद्द भएपछि आर्मी फाइनलमा

काठमाडौँ - त्रिभुवन आर्मी क्लब नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा फाइनल प्रवेश गरेको छ। बिहीबार तय भएको पहिलो सेमिफाइनल खेल राति परेको वर्षाका कारण मैदान भिजेपछि रद्द भएको हो। समूह विजेताको रूपमा सेमिफाइनलको यात्रा तय गरेको आर्मी खेल रद्द भएसँगै सिधै फाइनल पुगेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा समूह ‘ए’ को विजेता आर्मी र समूह ‘बी’ को उपविजेता सुदूरपश्चिम प्रदेशबीच खेल हुने तालिका थियो। तर, बुधबार रातिको लगातार वर्षाका कारण मैदान खेल्न योग्य नभएपछि खेल रद्द भएको हो। खेल रद्द भएपछि उत्कृष्ट नतिजाका आधारमा समूह ‘ए’ को विजेता आर्मी फाइनलमा प्रवेश गरेको।

यो सँगै प्रतियोगितामा वर्षाका कारण रद्द भएको खेल संख्या १७ पुगेको छ। लिग चरणका ३२ खेलमध्ये १६ खेल रद्द भएको थियो। आजै हुने दोस्रो सेमिफाइनलमा एनआरएनए स्पोर्टस एकेडेमी र नेपाल पुलिस क्लबबीच खेल हुने तालिका रहेको छ।

नवौं राष्ट्रिय खेलकुद असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुने तालिका रहे पनि सोही समयमा नेपाल टी-२० लिग हुने भएपछि पुरुष क्रिकेटलाई अघि सारिएको हो। तर, टी-२० क्रिकेटसमेत निर्धारित समयमा नहुने भएको छ।  

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×