काठमाडौँ - नागेश्वर महादेव मन्दिरमा पनि मङ्गलबार बिहान ३ बजेदेखि नै भक्तजनको भीड लागेको थियो। नागेश्वरमा ६ ब्राह्मणद्वारा चारै प्रहर पूजा आराधना एवं रुद्राभिषेक गरिएको थियो। उक्त पूजा प्रत्येक वर्ष महाशिवरात्रिका अवसरमा गरिन्छ। नागेश्वरमा महाशिवरात्रिका अवसरमा रातिसम्म नै भक्तजनको भीड लागेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रकाशजङ्ग रायमाझीले जानकारी दिए।
मन्दिरमा बिहानदेखि रातिसमम हजारौँ भक्तजनले पूजा आराधना एवं दर्शन गरेका छन्। महाशिवरात्रिमा नागेश्वरको दर्शन गर्नाले मुद्दा मामिलाबाट छुटकारा पाउनुका साथै श्री प्राप्त हुने धार्मिक विश्वाससमेत रहेको अध्यक्ष रायमाझीले बताए। यसैगरी राजधानी र देशभरका शिवालयमा पनि रातिसम्म नै भक्तजनको भीड लागेको थियो। मध्यरातमा फागुन कृष्ण चतुर्दशी तिथि परेका दिन प्रत्येक वर्ष महाशिवरात्रि पर्व पर्छ।