नामिबिया विरुद्ध टस जितेर बलिङ गर्दै नेपाल

काठमाडौँ - आईसीसी क्रिकेट विश्वकप लिग-टु अन्तर्गत घरेलु टोली नामिबियासँगको खेलमा नेपालले टस जितेर बलिङ गर्ने भएको छ। युनाइटेड क्लब क्रिकेट ग्राउण्डमा हुने खेलमा नेपालले फिल्डिङ गर्ने निर्णय गरेको हो।

नामिबियासँगको यो खेलका लागि नेपाली टिममा एक परिवर्तन गरिएको छ। करण केसीकाे स्थानमा साेमपाल कामी पहिलाे राेजाईँमा मैदान उत्रिएका छन्।

नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित यस शृंखलामा नेपालको यो तेस्रो खेल हो। नेपाल र नामिबियाबीच यसअघिको खेल वर्षाले प्रभावित हुँदा नतिजा विहीन बनेको थियो, जसले गर्दा दुवैले अंक बाँडेका थिए। दोस्रो खेलमा नेपाल स्कटल्याण्डसँग पराजित भएको थियो।

पहिलो खेलमा स्कटल्याण्डसँग पराजित भएको नामिबियाले नेपालसँग अंक बाँडेको थियो भने त्यसपछि स्कटल्याण्डलाई हराएको थियो। घरेलु टोली नामिबियासँग खेल्दा नेपाल यस टुरको पहिलो जितको खोजीमा हुनेछ। नेपालले कम्तीमा ३ खेल जित्ने लक्ष्य राखे पनि त्यो पूरा नहुने भएको छ। तर उत्कृष्ट प्रदर्शन गर्दै बाँकी २ खेल जित्न सकेमा नेपालको नामिबिया भ्रमण सुखद हुनेछ।

नेपालले शृंखलाको अन्तिम खेल बिहीबार स्कटल्याण्डसँग खेल्नेछ। ७ राष्ट्र सहभागी लिग- टु मा नेपाल २२ खेलबाट १८ अंकसहित छैटौं स्थानमा रहेको छ। नामिबिया २९ खेलबाट ३५ अंकसहित तेस्रो स्थानमा रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×