काठमाडौँ - सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्काले सुदूरपश्चिम प्रदेश सरकारले यहाँको स्वास्थ्य सेवा सुधार र वृद्धि गर्दै लगेको बताएका छन्।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ मा आज आयोजित निःशुल्क स्वास्थ्यशिविर उद्घाटन समारोहमा मन्त्री खड्काले प्रदेश सरकारले चालु वर्षलाई स्वास्थ्य सुधार वर्षका रुपमा अगाडि बढाएको जानकारी दिए। यहाँको सेती प्रादेशिक अस्पताल ३००, महाकाली प्रादेशिक अस्पताल २०० र टीकापुर अस्पताललाई १०० शय्यामा स्तरोन्नति गरिरहेको बताउँदै मन्त्री खड्काले पहाडी जिल्लामा पनि अस्पतालको भौतिक संरचना र उपकरण लगायतका सुधार भएको जानकारी दिए। “ सेती र महाकाली अस्पतालमा डाइलोसिस मेसिन जडान हुँदैछ”, उनले भने, “यहाँका सबै अस्पतालमा अक्सिजन प्लान्ट र सघन उपचार कक्ष सेवा विस्तार भएको छ।”
विशेषज्ञ सेवा गाउँ–गाउँ पुर्याउन लागिएको भन्दै उनले उपचार भन्दा बिरामी नहुने शिक्षा दिन स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापनाको सुरुआतसमेत भइसकेको बताए। स्वास्थ्य कार्यालय कञ्चनपुरले आयोजना गरेको सो कार्यक्रममा मन्त्री खड्काले प्रदेश सरकारले यहाँको पिपलाडी स्वास्थ्य चौकीलाई प्रदान गरेको भिडियो ए–क्सरे र इसिजी मेसिनबाट सोही अवसरमा सेवा उद्घाटनसमेत गरेका छन्।