टीकापुर - कैलालीको टीकापुरको पुछरीका सन्तोषकुमार चौधरीका तीन सन्तान छन्। सन्तोषले भैसीपालन व्यवसाय गरेका छन्। उनले आफ्नो व्यवासयिक कामसँगै श्रीमतीलाई घरको काममा समेत सघाउछन्। त्यसका कारण उनका बच्चा र श्रीमतीको स्वास्थ्य राम्रो छ।
“तीन सन्तान हुर्काउँदा श्रीमतीलाई आराम र पोषिलो खानेकुरा आवश्यक थियो, त्यो समयमा उनले अरु बेला जस्तो घर तथा खेतबारीको काम गर्न सकिनन्”, सन्तोषले भने, “श्रीमतीले सन्तान हुर्काउने यो समयमा मैले उनले गर्ने सबै काममा सघाए, बच्चाको कपडा धुने, भान्सामा सघाउने, बच्चाको सरसफाइमा सघाउने काम गरेँ।”
सन्तोषलाई बालबच्चा स्याहार, भान्साको काम र सरसफाइको काम गर्दा श्रीमतीलाई सघाइरहेको छु भन्ने कहिल्यै लागेन। बरु उनलाई यो काम घरको हो, घरको काम सबै मिलेर गर्नुपर्छ भन्ने लाग्छ। सन्तोषकी श्रीमती सीतालाई सहयोगी श्रीमान् र परिवार पाएकामा गर्व लाग्छ। सीताको घरमा सबै काम मिलेर गरिन्छ, त्यसैले उनलाई जीवन सुन्दर लाग्छ। “श्रीमानमात्र होइन सासुआमा पनि यस्ते सहयोगी हुनुहुन्छ, हामी जसको अगाडी जे काम छ त्यसैले गर्छौँ”, सीताले भनिन्, “गर्भावस्था र बच्चा साना भएका बेला सासु र श्रीमानले दैनिक कुखुराको अण्डा खुवाउने, पोषणयुक्त अन्य खानेकुरा बनाइदिने गरेर मलाई स्याहार गर्नुभयो।”
सन्तोष र सीताजस्तै भीमबहादुर विकका पनि तीन सन्तान छन्। भीमबहादुरले विगतमा खासै घरायसी काममा सहयोग नगरे पनि हाल राम्रो सहयोग गरि रहेका छन्। “पहिला भान्सा र सरसफाइको काम महिलाले गर्ने हो, पुरुषले गर्दा इज्जत जान्छ भनिन्थ्यो, पछि श्रीमतीलाई अप्ठ्यारो हुन थाल्यो, मेरो मनले मानेन अनि मैले घरको काममा सघाउन थालेँ”, भीमबहादुर भन्छन्, “मैले सबै काम गर्छु, मैले सघाएकै कारण बच्चा र श्रीमतीको स्वास्थ्य राम्रो छ।”
भीमबहादुरकी श्रीमती कल्पना पनि आफ्नो हरेक काममा श्रीमानको साथ पाएर खुशी छिन्। श्रीमतीलाई घरायसी काममा नसघाउने पुरुष देख्दा कल्पनालाई आफू भाग्यमानी हुँ भन्ने लाग्छ। “मीठो खानेकुरा पहिला परिवारका सदस्यले खाने, महिलालाई अन्त्यमा खाना खान दिने गलत चलन रहेको समाजमा म भाग्यमानी हुँ”, कल्पनाले भनिन्, “उहाँले मेरालागि पोषिलो खानेकुराको जोहो गर्न निकै मेहनत गरि रहनुभएको छ, भगवानजस्तै श्रीमान् पाएका कारण जीवन सहज चलेको छ।”
त्यस्तै जगतबहादुर भुल दम्पत्तीको घरमा एउटा बच्चा छ। उनकी श्रीमती फेरि गर्भवती छिन्। जगतबहादुरका दम्पत्तीलाई अब बच्चा राम्ररी स्याहार्ने, घरायसी काम बाडेर गर्नुपर्छ भन्ने लागेको छ। “घरको काममा पुरुषको सहभागिता बढेमा महिला र बच्चाको स्वास्थ्य राम्रो हुने रहेछ, महिलाको काम हो भनेर नसघाउँदा आफ्नै बच्चा रोगी हुन्छ भन्ने बुझेको छु”, जगतबहादुरले भने, “अब लाज होइन, स्वास्थ्य कस्तो बनाउने भन्नेमा केन्द्रित छु।”
स्वास्थ्य र पोषण सुधारका लागि लैङ्गिक समानता आवश्यक छ। लैगिक असमानताका कारण स्वास्थ्य र पोषणमा असर पारेको छ। यसलाई सुधार्नका लागि लैगिक समानता आवश्यक छ भनी लैगिक दृष्टिकोणले महिला र बालबालिकाको पोषण सुधारका लागि घरायसी काममा पुरुषको सहभागिता आवश्यक रहेको पोषण सुधारका अभियानकर्मी नरबहादुर विश्वकर्मा बताउछन्।
टीकापुर नगरपालिकाका सिनियर अनमी हेमा ज्ञवाली घरायसी काममा पुरुषको सहभागिता बढाउन स्थानीय तहले श्रीमान तथा श्रीमतीलाई लैगिक समानता स्वास्थ्य र पोषणबारे जानकारी दिन थालेको बताउछन्। “हामीले दम्पत्तीलाई सँगै राखेर घरायसी काममा सघाउँदा पोषणमा कस्तो सहयोग पुग्छ भनी सिकाउन थालेका छौँ”, ज्ञवालीले भने, “घरभित्रको काममा सघाउने बित्तिकै महिला फुर्सदिला हुन्छन्, महिला फुर्सदिला भए बच्चाले आमाबाट स्याहार पाउँछ, त्यसैले पुरुषहरु कामकाजी भइदिए परिवार स्वस्थ हुन्छन्, परिवार स्वस्थ भए घर सुन्दर बन्छ।”