काठमाडौँ - भौगोलिक हिसाबले जिल्लाकै दुर्गम मानिने तमानखोला गाउँपालिकाले पछिल्लो चार वर्षमा एक हजार २०० धारा निर्माण गरेको छ।
गाउँपालिकाले पानीको अभाव रहेका गाउँलाई केन्द्रित गरेर बिभिन्न परियोजना सञ्चालनमा ल्याएको हो। गाउँपालिकाले अझै एक हजार घरपरिवारका लागि एक घर एक धारा पुर्याउन बाँकी छ। तमानखोला –२ को खोलेस्बाङमा पछिल्लोपटक सुरु भएको सबैभन्दा ठूलो खानेपानी आयोजना चलिरहेको छ। खोलेस्बाङ विष्णुमाया घर्तीले पानीको धारा बनाउन आफैले गिट्टी कुट्ने, ढुङ्गा बोक्ने, खानेपानीको पाइप लाइन खन्ने काममा खटिएका छन्। गाउँमा लामो समयदेखि खानेपानीको अभाव थियो। अभाव टार्न उनीहरुले दुई वर्षदेखि खानेपानीको आयोजना निर्माण गर्दैछन्। कोरोना सङ्क्रमण र निषेधाज्ञाले सोचेको बेलामा काम गर्न नपाएर ढिलाइ भएको छ। खोलाखोल्सीको पानी खाँदा बिरामी पर्ने समस्याले उनीहरुले पानीको खोजी गरेका थिए।
यो अभियानमा ‘गोरखा वेयलफेयर ट्रष्ट’ दाताका रूपमा आइपुग्यो। यसपछि भने स्थानीयवासीले हौसिएर काम गर्न थालेका छन्। गाउँपालिकासँग समन्वय गरेर काम भइरहेको छ। दुई वर्षअघिदेखि सुरु भएको आयोजना पूरा हुने चरणमा पुगेको छ। “यति दुःख गरियो, अब घरमै खानेपानी पाइन्छ भन्ने आश छ”, उनले भने, “पानीका कारण बिहानभर खर्चनुपर्दा बालबालिकालाई समयमा विद्यालय पठाउनसमेत सकिएको थिएन, अब सजिलो हुने भएको छ।” आगामी चैतसम्ममा घर–घरमा धारा ल्याउने गरी स्थानीयवासीले काम गरेका हुन्। वर्षातमा नजिकै पानीका स्रोत पाए पनि हिउँद र सुक्खायाममा बढी समस्या थियो। त्यसैले, उनीहरूले पानी खेप्ने सास्ती खेपेका थिए।
स्थानीयवासीले खेपेको दुःखबाट दाता खोज्ने क्रममा सस्था भेट्टाएको उपभोक्ता समितिका अध्यक्ष यामबहादुर घर्तीले बताए। उनले बिद्यालय, सामुदायिक भवनसहित घर–घरमा धारा जडान गरेर उपभोक्तालाई शुद्ध पानी खुवाउन लागेको बताए। “विसं २०३३ को आयोजनाबाट पानी खाइरहेका थियौँ, ती धारा मेटिएका थिए, मुहान सुकेको थियो, खोल्साखोल्सी धाउन बाध्य थियौँ”, उनले भने, “अहिले त धेरै टाढाबाट पानी ल्याउँदैछौँ”, उनले सिद्दभिर भन्ने स्थानबाट पानी ल्याउन लागेको बताए। उक्त स्थान गाउँदेखि झण्डै १० किमी पर छ।