काठमाडौँ - हलेसी तुवाचुङ नगरपालिकाले सुरु गरेको ‘बालिका बचत’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ।
कार्यक्रम सुरु भएयता हालसम्म नगरपालिकाभरिका १२९ बालिकाको नाममा बचत गर्ने काम भइसकेको छ। कार्यक्रमअन्तर्गत हालसम्म ४६ बालिकाको नाममा खोलिएको बचत खातामा दोस्रो किस्ता र ८३ जनाको खातामा पहिलो किस्ताबापतको रकम जम्मा भएको नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख इरन राईले जानकारी दिए। उनका अनुसार खाता खोलेको दश वर्षपछि नवीकरण गर्नुपर्नेछ। नगरपालिकाले वार्षिक रूपमा रु. चार हजारका दरले तीन वर्षमा रु. १२ हजार रकम जम्मा गरिदिने र त्यसमा घरपरिवारले पनि सकेको रकम जम्मा गर्ने गरेका छन्। यसबाट छोरीहरुको भविष्य उज्वल बन्ने आमाहरुको विश्वास छ।
नगरपालिकाले छोरीको सम्मान र प्रोत्साहनका लागि सुरु गरेको सो कार्यक्रमअन्तर्गत खाता खोलिएका बालिकाको नाममा नगरपालिकाले जम्मा गरिदिएको भौचर सम्बन्धित बालिकाहरूका आमालाई प्रदान गर्ने गरिएको छ। समाजमा छोरीलाई भन्दा छोरालाई प्राथमिकता दिने सामाजिक विभेद अन्त्यको प्रयासस्वरूप नगरपालिकाले सो कार्यक्रम सुरु गरिएको नगर उपप्रमुख बिमला राईले जानकारी दिए। कार्यक्रमअन्तर्गतको सहयोग पाउन गर्भावस्थामा आमाले नियमित स्वास्थ्य जाँच गरेको र वर्थिङ सेन्टर (प्रसूति गृह) वा स्वास्थ्य संस्थामा सुत्केरी भएको प्रमाण सम्बन्धित वडा कार्यालयमा उपलब्ध गराउनुपर्नेछ। उपलब्ध प्रमाणका आधारमा वडाले रकम जम्मा गरिदिन नगरपालिकालाई सिफारिस गर्नेछ।
वडाको सिफारिसका आधारमा नगरपालिकाले सम्बन्धित बालिकाको नाममा सालपा विकास बैंकमा खोलिएको खातामा रकम जम्मा गरिदिनेछ। कार्यक्रम सुरु गरेपछि नगरपालिकामा नियमित गर्भजाँच गराउने र वर्थिङ सेन्टरमा गएर सुत्केरी गराउने महिलाको संख्यासमेत वृद्धि हुँदै गएको नगर स्वास्थ्य शाखा संयोजक प्रकाश घिमिरेले जानकारी दिएका छन्।
कार्यक्रमअन्तर्गत छोरीको नाममा खाता खोलेर तीन वर्षको उमेर पुग्दासम्म किस्तागत रूपमा वार्षिक चार हजारका दरले खातामा रकम जम्मा गरिदिने गरेको छ। सालपा विकास बैंकको हलेसी शाखाले सो रकमको वार्षिक नौ प्रतिशतले ब्याज उपलब्ध गराउनेछ।