काठमाडौँ - एसिया कप टी-२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज भारत र पाकिस्तानबीच स्पर्धा हुँदैछ। एसिया कप क्रिकेटमा यी २ राष्ट्रबीचको दोस्रो खेल दुबईमा नेपाली समयअनुसार राति ८ बजेदेखि सुरु हुनेछ।
भारतले पछिल्लो आफ्नो ५ टी-२० खेलमध्ये ४ मा जित र एउटा हार व्यहोरेको छ। उसले लगातार ३ खेल जितेको छ। पाकिस्तानले ५ खेलमध्ये ४ मा जित र एउटामा हार व्यहोरेको हो। भारत र पाकिस्तान पछिल्लो पटक आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा स्पर्धा गरेको थियो। जसमा पाकिस्तानले भारतलाई हराउन सफल भएको थियो।
एसिया कप क्रिकेटमा समग्रमा भारत र पाकिस्तान एक अर्का विरुद्ध ८ खेल खेलेका छन्। भारतले ५ वटामा जित हात पारेको छ। पाकिस्तानले ३ खेल जितेको छ। भारतीय क्रिकेट टोलिका पूर्व कप्तान विराट कोहलीले आफ्नो १०० औं टी-२० अन्तर्राष्ट्रिय खेल्नेछन्।
भारतका लागि पाकिस्तान क्रिकेट टोलिका कप्तान बाबर आजमको क्रिकेट लय चिन्ताजनक विषय रहनेछन्। पाकिस्तानले विश्वकप क्रिकेटमा भारतलाई सहजै पराजित गरेकोले उसको मनोबल उच्च रहनेछ।