काठमाडौँ - महान्यायाधिवक्ता खम्मबहादुर खाती भ्रष्टाचारको ठूला मुद्दामा संलग्न रहेको गम्भीर आशंका गरिएको छ।
ममहान्यायाधिवक्ता खातीले सवा अर्ब बराबरको चुनढुंगा दोहनसम्बन्धी मुद्दामाथि अख्तियारलाई सहयोग गर्नुको साटो मुद्दाका आरोपीलाई सघाउने काम गरेको पाइएको बताइएको छ। अख्तियारका आयुक्तहरूका अनुसार खातीले अप्रत्यक्ष भाषाको प्रयोग गरी मुद्दाका आरोपीलाई निर्दोष ठहर्यााउन दबाब दिएका हुन्।
अख्तियाारद्वारा दायर भएका मुद्दामा सघाउने काम महान्यायाधिवक्ताको भए पनि खातीले भने नियम विपरीत अख्तियारलाई आरोपीको पक्षमा नै उकासिरहेको हुँदा उनीमाथि गम्भीर आंशका गरिएको हो। खातीको शंकास्पद भूमिकाका कारण अख्तियारका आयुक्त र सरकारी वकीलहरूले सो मुद्दामा उनी स्वयंको पनि लसपस हुनसक्ने शंका गरेका हुन्। उनीमाथि आरोपीको पक्षमा बोली मुद्दालाई गलत ढंगले प्रभावित तुल्याउन खोजेको आरोप लागेको छ।
गत बिहीबार अख्तियार कार्यालयमै पुगी खातीले आफ्ना कर्मचारीहरूलाई समेत सो प्रकरणमा दोषी मानी मुद्दा दायर गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेपछि उनीमाथि अख्तियार सशंकित बनेको हो। अदालतले पद र प्रतिष्ठा हेरेर मुद्दाको फैसला नगर्ने कुराप्रति महान्यायाधिवक्ता खातीको भूमिकाले अनविज्ञता प्रदर्शित गरेकोमा सरकारी वकील एवं अख्तियारका आयुक्तहरूले गम्भीर आपत्ति व्यक्त गरेका छन्।
अख्तियार अनुसन्धान आयोगले सो मुद्दामा काभ्रेका जिल्ला न्यायाधिवक्ता चन्द्रबहादुर पोखरेललाई समेत प्रतिवादी बनाएको छ।न्यायाधिवक्ता पोखरेललाई प्रतिवादी बनाइएको कुराप्रति खातीले असन्तुष्टि जाहेर गरेका छन् भने नौ चुनढुंगा खानीलाई क्षतिपूर्ति तिराउन नपर्ने भन्ने प्रतिवेदनमा उनले समेत महान्यायाधिवक्ताको कार्यालयको प्रतिनिधित्व गर्दै समर्थन जनाएका छन्।
गत माघ १२ गते अख्तियारले सरकारबाट अनुमति लिएको भन्दा अत्यधिक चुनढुंगा उत्खनन भएको भन्दै खानी तथा भूगर्भ विभागका नौ कर्मचारी, संलग्न नौ उद्योग र तिनका सञ्चालकहरूविरुद्ध उक्त मुद्दा दायर गरेको थियो। महान्यायाधिवक्ताको कार्यालयले अख्तियारका मुद्दामा सघाउ पुर्याउनुपर्ने भए पनि मुद्दाका प्रतिवादीका पक्षमा वकालत गरिरहँदा अख्तियार अनुसन्धान आयोगले महान्यायाधिवक्ता खातीलाई समेत शंकाको घेरामा राखेको हो।