युरोपेली च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीले स्पेनिश दिग्गज रियल म्याड्रिडलाई २–१ ले पराजित गरेको छ। सान्टियागो बर्नबेउमा बिहीबार राति सम्पन्न प्रतिस्पर्धात्मक खेलमा सिटीले उत्कृष्ट प्रदर्शन गर्दै तीन अंक हात पारेको हो।
घरेलु मैदानमा खेलेको रियल म्याड्रिडले खेलको २८औँ मिनेटमा रोद्रिगोको गोलमार्फत सुरुवाती अग्रता बनाएको थियो। तर सात मिनेटमै सिटीका निको ओ’रेलीले बराबरी गोल फर्काए।
खेलको ४३औँ मिनेटमा सिटीले पाएको पेनाल्टीलाई अर्लिङ हालान्डले सफलतापूर्वक प्रयोग गर्दै टीमलाई २–१ को अग्रता दिलाए।
दोस्रो हाफमा दुवै टीमले आक्रमण जारी राखे पनि थप गोल हुन नसकेपछि खेल सिटीको जितमा टुंगियो।
यस जितसँगै म्यानचेस्टर सिटी ६ खेलबाट १३ अंकसहित अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ। पराजित रियल म्याड्रिड भने १२ अंकका साथ सातौँ स्थानमा झरेको छ।
गएराति अन्य खेलहरूमा लिभरकुसेन र न्यूकासलले २–२ को बराबरी खेल्दा, बेनफिकाले नापोलीलाई २–० ले हरायो। एथ्लेटिक क्लब र पिएसजीबीचको खेल गोलरहित बराबरीमा सकियो।