काठमाडौँ - नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दशानायकेले पदबाट राजीनामा दिएका छन्। पुबुदुले बुधबार पत्रकार सम्मेलन गरेर व्यक्तिगत कारणले पदबाट राजीनामा दिएको बताएका छन्।
नेपाल क्रिकेट संघ (क्यान) ले पुबुदुले पदबाट राजीनामा दिएको पुष्टि गरेको छ। क्यानका क्रिकेट म्यानेजर विनोद दासका अनुसार पुबुदुले राजीनामा क्यानमा बुझाइसकेका छन्।
उनले राजीनामा दिँदा आफू दुखी भएको प्रतिक्रिया दिएका छन्। ‘मेरो आफ्नै व्यक्तिगत कारणले राजीनामा दिँदै छु‚ त्यसैले म यो राजीनामा दिँदा दुःखित छु,’ पत्रकार सम्मेलनमा राजीनामा घोषणा गर्दै उनले भने, ‘मलाई क्यानले कुनै कारणले ल्याएको थियो। नेपाली क्रिकेट पहिलेको भन्दा धेरै परिवर्तन भएको छ‚ आवश्यक परिवर्तन मैले गरेँ अब युवा टोलीले भविष्यमा राम्रो गर्ने मेरो विश्वास रहेको छ।’
उनले नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षण सम्हालेको ८ महिनामै पदबाट राजीनामा दिएका हुन्। क्यानले गत मंसिरमा खुला छनोटबाट उनलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो। पुबुदुलाई नेपालका सबैभन्दा सफल क्रिकेट प्रशिक्षक मानिन्छ तर दोस्रो पटकमा भने उनी अपेक्षा गरेअनुसार सफल हुन सकेनन्।
यसअघि उनले सन् २०११ देखि सन् २०१५ सम्म नेपालका मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए। उनकै प्रशिक्षणमा नेपालले पहिलो पटक सन् २०१४ मा आइसिसी टी-२० विश्वकप खेलेको थियो।