'लाइगर'को कमजोर रेटिङले नेपाली वितरकको २ करोड जोखिममा

काठमाडौँ - विश्व बक्सिङ लिजेन्ड माइक टायसनको जीवनसँग प्रभावित बलिउड फिल्म ‘लाइगर’लाई लिएर रिलिजपूर्वको उत्साह उच्च थियो। जब रिलिज भइदियो, त्यो अपेक्षा धुलोमा मिसियो। दक्षिण भारतीय स्टार विजय देवरकोण्डाको बलिउड डेब्यु संकटमा पर्‍यो। पछिल्लो समय बलिउड नै संकटमा छ।

बलिउड समीक्षक तरण आदर्शले ‘लाइगर’लाई १.५ रेटिङ स्टार दिएका छन्। उनले फिल्मलाई ‘समय गुज्रिएको’ लेखेका छन्। ‘लाइगर प्रभावित तुल्याउन असफल छ। अवसर, स्रोत र प्रतिभाको क्षति। यद्यपि, विजय देवरकोण्डा बलिउडमा करिअर थालन योग्य छन्। यो लाइगर गर्जिंदैन मात्र,’ उनले लेखेका छन्।

बलिउड हंगामा लेख्छ, ‘विचित्र कथा तर खराब लेखनको कारण दर्शकलाई प्रभावित तुल्याउन लाइगर असफल छ।’ हिन्दुस्तान टाइम्सले राम्या कृष्णनको प्रयत्नको बाबजुद अवसर खेर गएको लेखेको छ।

आईएमडीबीको कुल १० रेटिङमा फिल्मले २ स्टार पाएको छ जुन निकै खराब हो। ‘लाइगर’को यो वर्ड अफ माउथले यसको समग्र ओपनिङमा असर पार्ने अनुमान गर्न सकिन्छ।

‘लाइगर’लाई टी-फक्स वितरण कम्पनीले २ करोड नेरु हारहारीमा नेपाल ल्याएको जनाइएको छ। यसअघि आमिर खानको ‘लाल सिंह चड्ढा’लाई वितरकले २ करोड ४० लाख रुपैयाँमा नेपाल ल्याएका थिए। तर लालसिंह चड्ढा असफल हुँदा वितरकलाई धक्का पुग्यो। यही नियति ‘लाइगर’मा पनि दोहोरिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×