माओवादी आठौँ महाधिवेशन; बन्दसत्र प्रज्ञा भवनमा जारी

काठमाडौँ । नेकपा(माओवादी केन्द्र) को आठौँ महाधिवेशन अन्तर्गत बन्दसत्र प्रज्ञा भवनमा आज बिहान ११ बजेदेखि सुरु भएको छ। 

बन्दसत्रमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, विधानलगायतका अन्य प्रतिवेदन पेश भएको स्थायी समिति सदस्य जनार्दन शर्माले जानकारी दिए। सो राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल हुन गइरहेको शर्माको भनाइ छ। बन्दसत्रमा कूल एक हजार ६३१ प्रतिनिधि तथा पर्यवेक्षक सहभागी छन्। सबै क्लस्टर मिलाउँदा त्यो सङ्ख्यामा अझै केही वृद्धि भएको बताइएको छ। सात भौगोलिक प्रदेश र तीन गैरभौगोलिक प्रदेशबाट प्रतिनिधि सम्मेलनमा सहभागी छन्।

माओवादीको आइतबार बिहान बसेको केन्द्रीय समितिको बैठकले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचन गर्ने निर्णय गरेको थियो। हलको क्षमताभन्दा बढी प्रतिनिधि भएपछि व्यवस्थापनमा चुनौती थपिएको छ। राजनीतिक प्रतिवेदन, विधान पारितसँगै नयाँ नेतृत्वको चयन गर्ने कार्यसूची रहेको माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए। राष्ट्रिय सम्मेलनको आयोजना गरेको माओवादीले शनिबार मात्रै महाधिवेशनमा रूपान्तरण गरेको थियो।
 
केन्द्रीय समितिको बैठकले शनिबार स्थायी समितिले गरेको निर्णयलाई अनुमोदन गरेको थियो। नेपाली मौलिकतासहितको समाजवाद निर्माण गर्ने जनाएको माओवादीले बन्दसत्रलाई व्यवस्थित बनाउन आवश्यक तयारी गरिएको उल्लेख गरेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×