काठमाडौँ - नेपाल क्रिकेट संघ (क्यान)ले पहिलोपटक आयोजना गर्न लागेको फ्रेन्चाइज क्रिकेट लिग नेपाल टी-२० को तयारी अन्तिम चरणमा पुगेको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को मान्यता प्राप्त टी-२० फ्रेन्चाइज लिगमा आबद्ध ६ वटा टोलीले आ-आफ्नो तयारीलाई अन्तिम रूप दिँदै छन्। प्रतियोगिता शुक्रबारदेखि कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ। प्रतियोगिता १० जनवरीसम्म चल्नेछ।
लिगमा काठमाडौँ नाइट्स, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किङ्स, जनकपुर रोयल्स, पोखरा एभेन्जर्स र फार वेस्ट युनाइटेडले प्रतिस्पर्धा गर्नेछन्। क्यानले ड्राफ्टमार्फत खेलाडी अनुबन्ध गरेको हो। नेपाली खेलाडीलाई ३ क्याटेगोरीमा विभाजन गरिएको थियो। खेलाडी अक्सनमा सहभागी फेन्चाइजले क्याटेगोरी ‘ए’बाट १, क्याटेगोरी ‘बी’बाट ४ र क्याटेगोरी ‘सी’बाट ६ नेपाली खेलाडी अनुबन्ध गरेका थिए। अक्सनमा फार वेस्ट युनाइटेडले १२ नेपाली खेलाडी अनुबन्ध गरेको थियो।
पहिलो संस्करणमा ६७ नेपाली खेलाडी छनोट भएका थिए। क्याटेगोरी ‘ए’मा रहेका खेलाडीले १५ लाख, ‘बी’का खेलाडीले १० लाख र ‘सी’का खेलाडीले ५ लाख पाउनेछन्। क्यानले नेपाली खेलाडीबाहेक हरेक फ्रेन्चाइज टोलीले कम्तीमा ५ विदेशी खेलाडी पनि अनुबन्ध गर्न पाउने प्रावधान बनाएको छ। जनकपुर रोयल्सले वेस्ट इन्डिजका खेलाडी ट्रेभोन ग्रिफिथको कप्तानीमा टोली बनाएको छ।
जनकपुरको प्रशिक्षकमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षकसमेत रहेका उमेश पटवाल रहेका छन्। लुम्बिनीका मुख्य प्रशिक्षकमा इंग्ल्यान्डका पिटर ट्रेगो र प्रशिक्षकमा नेपालकै मनोज कटुवाल रहेका छन्। पोखराले सामसङजंग थापालाई प्रशिक्षकको जिम्मेवारी दिएको छ। विराटनगर सुपर किंग्स र जनकपुर रोयल्सले समान ६ विदेशी खेलाडी भित्र्याएका छन्। फार वेस्ट युनाइटेडले ५ विदेशी खेलाडी अनुबन्ध गरेको छ।