खलङ्गा। विभिन्न चोरीका घटनामा संलग्न दुई जनालाई जिल्ला प्रहरी कार्यालय जुम्लाले पक्राउ गरेको छ। चन्दननाथ नगरपालिका क्षेत्रभित्रका घर तथा पसलमा चोरी गर्ने दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी यौवनकुमार चौधरीले बताए।
घरमा कोही नभएको मौका पारी चोरी गर्ने जुम्ला चन्दननाथ नगरपालिका– ५ बस्ने २७ वर्षीय कर्ण सुनार र सोही वडा निवासी २७ वर्षीय चन्द्र नेपाली सार्कीलाई चोरीका सामानसहित पक्राउ गरिएको सूचना अधिकारी चौधरीले बताए। सामान चोर्ने दुईसँगै चोरीका सामान खरिद गर्ने अन्य दुई व्यक्तिलाई समेत पक्राउ गरिएको छ। चोरीको सामान खरिद गर्नेमा चन्दननाथ नगरपालिका–६ का २१ वर्षीय विशाल सुनार र सोही वडा निवासी २३ वर्षीय मनोज सुनार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
डेल र एचपी कम्पन्नीका ल्यापटप दुई थान, गलाई (पगाली) राखेको सुन दुई तोला, चाँदीका सिक्री एक थान, चाँदीको सिक्का आठ थान र चोरीमा प्रयोग भएको पेचकस एक थानसहित चोरीमा संलग्न व्यक्ति पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। चोरीका घटनामा संलग्न व्यक्तिलाई चोरी शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धानको काम भइरहेको प्रहरीले जनाएको छ।